विकल्प न्यूज/जलजला
मंसिर १७ गते ।
पर्वतको जलजला गाउँपालिका ३ पर्वत बेनीमा “लिफ्ट” प्रबिधिको खानेपानी आयोजना निर्माण कार्य सुरु भएको छ ।
खानेपानी तथा ढल निकास बिभागको सहरीकरण उन्मुख बस्तीहरुका लागि सञ्चालित सहलगानी कार्यक्रम अन्तरगत पर्वत बेनी खानेपानी तथा सरसफाई आयोजना निर्माण सुरु भएको हो ।
बढ्दो बस्ती विकाससंगै माथिल्लो क्षेत्रका पानीका मुहान सुक्ने र खानेपानी आपूर्तीको समस्या बढीरहेको अवस्थामा पर्वत बेनीमा सञ्चालीत उक्त आयोजना मार्फत नदी किनारको पानी तानेर वितरण गर्ने लक्ष्य राखिएको छ ।
खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय पर्वतका ईन्जिनियर बिधान अर्यालले विद्युतको सहायताले चल्ने सम्पवयल प्रबिधिको पम्पबाट कालीगण्डकी किनारबाट पानी तानेर बस्ती माथि रहने टंकीमा प्रशोधन गरि वितरण गरीने बताउनुभयो ।
कालीगण्डकी नदीको दायाँ किनारमा रहेको जुगेपानीको मुहानबाट तानेर १५० मिटर माथि रहने टंकीमा पु¥याईने पानी चार चरणमा प्रसोधन गरि वितरण गरिने ईन्जिनियर अर्यालले बताउनुभयो ।
सरकारको ७० प्रतिशत अनुदान र उपभोक्ताको तिस प्रतिशत श्रम तथा नगद लगानीमा निर्माण हुने आयोजनाबाट जलजला गाउँपालिकाको २, ३ र ४ नम्बर वडामा पर्ने बगरफाँट, पर्वत बेनी र लामाखेतका करिब एक हजार घरधुरी लाभान्वित हुने पर्वत बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष लोकनाथ रेग्मीले बताउनुभयो ।
रेग्मीका अनुसार पहिलो चरणमा उपभोक्ताबाट पन्ध्र हजार रुपैयाँका दरले नगद संकलन गरिएको छ । आगामी पुष पछि आवद्ध हुने सदस्यलाई बिस हजार रुपैयाँका दरले शूल्क लिने संस्थाले निर्णय गरेको छ । प्रत्येक घरमा मिटर जडित निजी धारा मार्फत खानेपानी वितरण गर्ने लक्ष्य राखिएको आयोजना वि.स २०७६ असार सम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
प्रति सेकेण्ड १२ लिटर पानी तान्ने क्षमताको पम्प जडान गरिने जनाइएको छ । आयोजनाको पुर्वाधार निर्माणका लागि ठेक्का सम्झौता गरेको निर्माण कम्पनी चन्द्र बसन्त ए.एम जेभीले रिजर्भ र प्रशोधन टंकी रहने ठाउँमा पुर्वाधार निर्माणको काम सुरु गरेको छ । मुहानमा ईनार, पम्पिङ हाउस लगायतका पुर्वाधार समेत निर्माण गर्ने तयारी भएको उपभोक्ता संस्थाका सचिव ठाकुर रेग्मीले बताउनुभयो ।
मुहानदेखि टंकी सम्मको उचाई १५० मिटर र दुरी ७५० मिटर रहनेछ । आयोजना निर्माणका लागि १२ करोड ४३ लाख ७८ हजार ४८७ रुपैयाँ लागत अनुमान गरिएको उपभोक्ता संस्थाका कोषाध्यक्ष डिलबहादुर बरुवालले बताउनुभयो । निर्माणको क्रममा थप काम गर्दा लागत बढ्न सक्ने उहाँले बताउनुभयो ।
तिब्र रुपमा बस्ती विकास हुदै गएको पर्वत बेनीमा हाल खानेपानीको हाहाकार छ । बस्ती माथि रहेको मुहानबाट व्यक्तिगत लगानीमा पाईप जडान गरेर घरघरमा पानी ल्याएर उपभोग गर्दै आएका छन् । सिमीत मात्रामा रहेको पानीको स्रोतले नपुगेपछि स्थानीयबासीलाई समस्या भएको छ ।