विकल्प न्यूज/बेनी
मंसिर ८ गते ।पहिलो चरणमा प्रतिनिधि र प्रदेशसभा चुनाव हुन लागेको म्याग्दी लगायत ३२ जिल्लामा शुक्रबारदेखि मौन अवधि सुरु भएको छ । यो अवधिमा पहिलो चरणमा निर्वाचन हुने जिल्लामा कुनै पनि राजनितिक दल तथा उमेद्वारले निर्वाचन प्रचार प्रसार गर्न पाउने छैनन् । आयोगका अनुसार सञ्चार माध्यमलाई भने ७७ वटै जिल्लामा निर्वाचन आचार संहिता लागु हुनेछ् ।
११ गतेबाट भने आचारसंहिता फुकुवा हुनेछ् । आयोगले आचार संहिता कार्यान्वयन गरे नगरेको अनुगमन गर्न छुट्टै बिशेषज्ञहरुको टोली गठन गरेर अनुगमन भैरहेको जनाएको छ । पहिलो चरणमा चुनाव हुने जिल्लाको मतदान केन्द्रबाट नयाँ मतदाताहरुलाई परिचयपत्र वितरणको काम सुरु भएको छ ।
शनिबारसम्म परिचयपत्र वितरण गरिने म्याग्दीका जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले जानकारी दिनुभयो । नयाँ थपिएका मतदातालाई परिचयपत्र वितरणसंगै मतदाता सचेतना अभियान पनि एकैसाथ सञ्चालन गरिने भएको छ । म्याग्दीका १०६ वटै मतदान केन्द्रहरुमा मतदानको तयारी गरिएको छ ।
बिहीबारनै मतदान स्थलमा पुगेका मतदान र सहायक मतदान अधिकृतहरुले अधिकांश स्थानमा सर्वदलीय बैठक डाकेर तयारीको बारेमा छलफल गरेका छन् । रघुगंगा गाउँपालीका ४ दग्नाममा रहेको जनता मावि मतदान केन्द्रमा भने नेपाली काँग्रेसका प्रतिनिधि उपस्थित नभएका कारण शनिबार बोलाईएको सर्वदलीय बैठक बस्न सकेन् ।
नेपाली काँग्रेसका प्रतिनिधिले घरायसी कारण देखाउँदै बैठकमा नआएपछि बैठकका लागि गएका एमाले र माओवादी केन्द्रका प्रतिनिधि फर्कीएका छन् । जनता माविका मतदान अधिकृत हरि आचार्यले शनिबार बिहान ९ बजे पुन बैठक बोलाइएको बताउनुभयो ।