सन्तोष गौतम /विकल्प न्यूज
बेनी ७ मंसिर । आसन्न चुनावको सम्मुखमा प्रतिस्पर्धी दलहरुबीच सम्भावीत झडपको घटना न्युनीकरणका लागि म्याग्दीमा सुरक्षा निकायले रातको समयमा हुने गतिबिधिलाई निगरानी र नियन्त्रण गर्ने रणनिती बनाएका छन् ।
दल र उमेद्वारको प्रचारप्रसारका क्रममा उमेद्वार केन्द्रित सुरक्षा रणनिती अपनाएका सुरक्षा निकायले बिहीबारदेखि मतदान स्थल र सम्भावीत झडपका घटनालाई न्युनीकरणका लागि फरक रणनिती अपनाएका हुन् । मौन अवधिको रातको समयमा प्रतिस्पर्धी दलहरुले मतदातालाई प्रभावीत पार्न खोज्दा विगतमा झडपका घटनाहरु हुने गरेका छन् ।
सम्भावीत झडपका घटना हुन नदिनका लागि राती ८ बजेपछि हिडडुल गर्नेलाई निगरानी र दश बजेपछि हिडडुल गर्नेलाई नियन्त्रणमा लिईने सुरक्षा सम्बन्धि विषयमा छलफल गर्न बिहीबार बसेका राजनितिक दल सहितको सरोकारवालाको बैठकमा प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्काले जानकारी दिनुभयो ।
सामाजिक सञ्जाल, मदिरा, पैसा, मोटरसाईकल, गलत मोटीभेसन र शक्ति प्रर्दशनका कारण हुन सक्ने सम्भावीत घटनालाई दृष्टिगत गरी सुरक्षा रणनिती अपनाइएको बताउनुभयो । जिल्लाका सबै ठाउँमा सुरक्षा निकायको उपस्थिती रहेकाले चुनाव बिरोधी गतिबिधि, उमेद्वार आक्रमण र मतदातालाई त्रसीत बनाउनेलाई तत्कालै नियन्त्रणमा लिन सकिने प्रनाउ खड्काले बताउनुभयो । प्रचारप्रसारका क्रममा सुरक्षा चुनौतीको रुपमा रहेको विप्पल नेतृत्वको नेकपाको गतिबिधिलाई समेत निगरानी गरिरहेको प्रहरीले मौन अवधिमा हुने टोल वारलाई थप चुनौतीको रुपमा विश्लेषण गरेको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले चुनावका लागि शतप्रतीशत सुरक्षाको व्यवस्था भएको बताउँदै अब दलहरु आचार संहिता पालनाप्रती संवेदनशिल बन्न आग्रह गर्नुभयो । उहाँले विगतका चुनावमा अशक्त, अपाङ्गको नाममा मतदानका दिन सवारी साधनमा मतदाना ओसार्ने गरीएको भन्दै यसपटक अनुमती लिएका भन्दा अन्य सवारी साधन सञ्चालन हुन नदिने जानकारी दिनुभयो ।
मुख्य निर्वाचन अधिकृत राजकुमार कोईरालाले मतदान स्थलबाट संकलन केन्द्र हुदै सदरमुकाम ल्याइने मतपेटिका गणना नहुँदा सम्मको लागि सिसी क्यामेराको निगरानीमा राखिने बताउनुभयो । उहाँले निर्वाचन आचार संहिता उल्लङ्घन गर्नेलाई कडाईका साथ कारबाही गरिने भन्दै सचेत बनाउनुभयो ।छलफलमा सहभागी राजनितिक दलका प्रतिनिधिहरुले सबै प्रतिस्पर्धी दल र उमेद्वारलाई निर्वाचन आयोग, प्रहरी, प्रशासनले समान ब्यवहार गर्नुपर्नेमा जोड दिएका थिए । मतदातालाई प्रभावीत बनाउन एक अर्कोपक्षबाट आचार संहिता उल्लङ्घन भएको आरोप लगाएका दलका प्रतिनिधिहरुले शान्तिपूर्ण, भयरहित र निष्पक्ष वातावरणमा चुनाव सम्पन्न गराउन सघाउने प्रतिवद्धता जनाएका थिए ।
यसैगरी आगामी आईतबार हुन लागेको प्रतिनिधि र प्रदेशसभा चुनावका लागि म्याग्दीका १०६ वटै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगीसकेका छन् । उनिहरुले मतदानको तयारीका लागि आवश्यक प्रक्रिया अघि बढाएका छन् ।