सन्तोष गौतम /विकल्प न्यूज
म्याग्दी ६ मंसिर ।निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलले ढुक्क भएर मतदानको तयारीमा लाग्न आग्रह गर्नुभएको छ । पहिलो चरणमा हुन लागेको प्रतिनिधि र प्रदेशसभा चुनावको तयारी र सुरक्षा अवस्थाको बारेमा क्षेत्रीय सुरक्षा अधिकारीहरु सहित बुधबार अनुगमनका लागि म्याग्दी आउनुभएका आयुक्त पौडेलले ढुक्क भएर मतदानको तयारी गर्न आग्रह गर्नुभएको हो ।
बेनीमा राजनितिक दल र सरोकारवालाहरुसंग भएको अन्तरक्रियामा आयुक्त पौडेलले संबिधान नमान्ने पक्षबाट भएका छिटपुट निर्वाचन बिरोधी गतिबिधिबाट त्रसीत हुन आवश्यक नरहेको बताउनुभयो ।
“उमेद्वार र मतदातालाई त्रसीत बनाउने गतिबिधि गर्नेलाई पक्राउ गरिएको छ” आयुक्त पौडेलले भन्नुभयो “मतदाता र उमेद्वारको सुरक्षामा राज्य प्रतिवद्ध छ ।” पौडेलले राजनितिक दलहरुलाई उच्च मनोबलका साथ आचार संहिता पालना गर्दै चुनाव प्रचार तथा मतदाता शिक्षामा केन्द्रित हुन आग्रह गर्नुभयो ।
स्वस्थ्य, निष्पक्ष, भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सबैको सहयोग आवश्यक रहेको बताउदै उहाँले दलहरुबीच स्वस्थ्य प्रतिस्पर्धाको अपेक्षा गरेको बताउनुभयो । निर्वाचन आचार संहिता पालनामा संवेदनशिल रहन आग्रह गर्दै आयुक्त पौडेलले आचार संहिता पालना नगर्नेको उमेद्वार रद्द गरिने चेतावनी दिनुभयो ।
कार्यक्रममा म्याग्दीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले चुनाव र सुरक्षा तयारीको बारेमा जानकारी गराउनुभएको थियो । विभिन्न राजनितिक दलका प्रतिनिधिहरुले उमेद्वार र मतदाताको सुरक्षा, चुनावलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन उच्च सर्तकता अपनाउन सम्बन्धित निकायलाई आग्रह गर्नुभएको थियो ।
सहभागीहरुले चुनावको मुखमा बजारमा छ्याप छ्याप्ती भेटिन थालेको नक्कली नोट, विप्लप नेतृत्वको नेकपाको नाममा चुनावमा नलाग्न गरिएको धम्की सहितको पत्र, सरकारद्धारा आचार संहिताको उल्लङ्घन गर्दै भैरहेको सरुवा, बढुवा र अनुमती लिएर व्यक्तिगत सुरक्षाका लागि राखिएका हतियार बुझाउन अटेर गरेको विषयमा ध्यानाकर्षण गराएका थिए ।
यसैबीच म्याग्दीका दुर्गमका मतदान स्थलहरुमा चुनावका लागि कर्मचारीहरु बुधबारदेखि खटिन थालेका छन् । मतदान सामाग्री सहित सुरक्षाकर्मीको साथमा कर्मचारीहरु कार्यक्षेत्रमा प्रस्थान गरेका हुन् । चुनावका लागि म्याग्दीमा ८४७ जना कर्मचारी नियुक्त गरिएको छ । यसैगरी ४२२ जना स्वमसेवक खटाइने भएको छ ।
प्रतिनिधिसभामा एक, प्रदेशसभामा दुई निर्वाचन क्षेत्र रहेको म्याग्दीमा ७५ हजार ५३८ जना मतदाता छन् । एक नगरपालीका र ५ वटा गाउँपालीका रहेको यस जिल्लामा ७२ मतदान स्थल र १०६ मतदान केन्द्र कायम गरिएको छ । १३ जना उमेद्वार चुनावी प्रतिस्पर्धामा छन् ।
निर्वाचन आयुक्तको टोलीले छिमेकी जिल्ला मुस्ताङ र बागलुङको समेत अनुगमन गरि सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । हेलीकप्टर मार्फत आयुक्त पौडेल र सुरक्षा अधिकारीहरुको टोली धौलागिरी गाउँपालीका १ गुर्जामा रहेको मतदान केन्द्रको अनुगमनमा जानुभएको थियो ।