बेनी–गलेश्वर सडक कालोपत्रे योजनामा ढिलासुस्ती

विकल्प न्यूज/बेनी
मंसिर ५ गते ।

c310c103ffe91ddc88561d690dec0088फाइल तस्विर
म्याग्दीको बेनी–गलेश्वर सडक कालोपत्रे योजना ढिलासुस्तीको नमुना बनेको छ । अठार महिनामा सकिनुपर्ने काम दुई वर्ष भन्दा बढी समय बित्दा समेत पुरा हुन सकेको छैन् ।

काम भैरहेको अवस्थामा आयोजनाको डिजाईन परिवर्तन हुनु, समन्वयको कमी, प्रतिकुल मौसम, निर्माण व्यवसायीको लापरबाहीका सडक कालोपत्रे गर्न ढिलाई भएको हो । सडक डिभिजन कार्यालय बागलुङले बेनी–गलेश्वर सडक कालोपत्रे गर्न २०७२ साउनमा बिरुवा बिशाल एण्ड बिराट जेभीसंग छ करोड ६२ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार २०७३ फागुन ३ गते सम्पन्न गर्ने लक्ष्य थियो ।

एक लेनको सडक कालोपत्रे गर्ने सम्झौता भएकोमा कोरला नाका सञ्चालनमा ल्याउने सरकारको निर्णयसंगै दुई लेनको बनाउने निर्देशन आएपछि काम भैरहेको अवस्थामा स्टिमेट परिवर्तन गर्नुपर्दा लक्ष्य अनुसार काम गर्न नसकिएको निर्माण व्यवसायी कम्पनीका प्रतिनिधि नवराज थापाले बताउनुभयो ।

सडक डिभिजन र बिभागले नयाँ डिजाईन तयार र स्विकृत गर्न ढिलाई गर्दा त्यसको असर कार्यक्षेत्रमा परेको उहाँको भनाई छ । पहिले एक लेन (३.५ मिटर चौडा) सडकमा तिन दशमलब ५ किलोमिटर कालोपत्रे गर्ने सम्झौता थियो । पछि एक किलोमिटर ६०० मिटरमा दुई लेन (७ मिटर चौडाई) कालोपत्रे गर्ने नयाँ सम्झौता भएको छ ।

यो सडक बेनी–जोमसोम सडकको प्रवेश बिन्दु हो । सडक फराकीलो बनाउने, नाली, ग्राभेल, पर्खाल लगायत पूर्बाधार तयार पारेर कालोपत्रे गर्ने तयारी भएको बेलामा बर्खा लागेपछि स्थिगीत गरिएको काम यही मंसिर महिना भित्रनै सम्पन्न गर्ने तयारी भएको प्रतिनिधि थापाले बताउनुभयो । फागुन चैतमा काम गर्न उपकरण नपाएका, बर्खामा काम गर्दा गुणस्तरीय नहुने, दसै तिहार, छठका कारण मजदुर नपाएकाले ढिलाई भएको थापाले बताउनुभयो ।

सडक डिभिजन कार्यालय बागलुङका ईन्जिनियर दृस्टि काफ्लेले जेठ २० सम्मको समय अवधिमा काम गर्न नसकेपछि मंसिर मसान्तसम्मका लागि म्याद थप भएको जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी एक किलोमिटर ९०० मिटर सडकको कालोपत्रेका लागि ठेक्का प्रक्रिया सुरु गरिएको छ । यसका लागि चार करोड लागत अनुमान गरिएको छ ।

दोस्रो चरणमा म्याग्दी प्रवेशद्धार देखि गलेश्वर सम्मको सबै सडकमा कालोपत्रे गर्ने योजना रहेको ईन्जिनियर काफ्लेले बताउनुभयो । पहिलो चरणमा पर्वत बगरफाँट जाने झोलुङ्गे पुल देखि गलेश्वर बसपार्क सम्मको सडकमा कालोपत्रे गर्ने जनाइएको छ । प्रशिद्ध धार्मीक स्थल गलेश्वर, म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङ जान आउन प्रयोग हुने बेनी गलेश्वर सडक हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुँदा यात्रा असहज बनेको छ ।