म्याग्दीको विकास र भविष्य बामपन्थीको काँधमा –बाम उम्मेदवार

विकल्प न्यूज/बेनी
मंसिर १ गते । bam myagdiनेकपा एमालेका पोलीट ब्युरो सदस्य थममाया थापाले नेपालमा राजनितिक स्थिरता कायम गरि विकास र सम्बृद्धीको अभियानलाई सफल बनाउन आसन्न चुनावमा बाम गठबन्धनको जित आवश्यक रहेको बताउनुभएको छ ।

अन्नपूर्ण गाउँपालीका ४ नारच्याङमा आयोजित आमसभामा थापाले भारतको ईशारामा नेपालमा राजनितिक अस्थिरता कायम गरेर विकास र जनताको हितमा काम हुन नदिएको काँग्रेसको विकासको अपेक्षा दिवासपना जस्तै भएको बताउनुभयो ।

“एमाले र माओवादीले छोटो समय सरकारको नेतृत्व गर्दा आफ्नो गाउँ आफै बनाउन कार्यक्रमबाट गाउँ गाउँमा विकास भित्र्यो, जेष्ठ नागरीक, एकल महिला, अशक्तहरुलाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरे, भारतले लगाएको नाकाबन्दीको सामना गरे, लोडसेडीङ हटाए” थापाले भन्नुभयो “काँग्रेसले आफ्नै बहुमतको सरकार ढाल्यो, सरकारी स्वामीत्वका कलकारखाना निजीकरणको नाममा बेचेर खायो, भ्रष्ट्राचार बढायो ।”bam gathabandan
नेकपा एमालेका बैकल्पीक केन्द्रिय सदस्य तथा प्रतिनिधिसभाका उमेद्वार भुपेन्द्र थापाले एमाले र माओवादीको सरकारले कोरला नाका खुलाउन पहल सुरु गरेको र बेनी जोमसोम कोरला सडकलाई सात अर्बको बजेटको व्यवस्था गरेको जानकारी गराउँदै कोरला नाका र बेनी जोमसोम कोरला सडक म्याग्दीको भविश्यसंग जोडिएको बताउनुभयो ।

उहाँले बामपन्थीको पहलमा बनेको सडकमा गाडी चढेर गाउँ गाउँ पुग्ने अनी कम्युनिष्टले केही गरेनन् भन्नेहरुलाई एकपटक आफूले म्याग्दीको विकासका लागि के योगदान गरे भनेर सोच्न आग्रह गर्नुभयो ।

“आफूले केही योगदान गर्न नसक्ने र अरुले गरेको पनि नदेख्नेले केही गर्न सक्दैनन्” थापाले भन्नुभयो “म्याग्दीको जलविद्युत, शिक्षा, स्वास्थ्य, सडक, सिचाई, कृषि, पर्यटन क्षेत्रको विकासका लागि जती काम भएको छ हामीलेनै गरेको हो । थप काम गर्न बामपन्थीलाई जिताउनुहोस ।”

प्रदेशसभा क्षेत्र (क)का माओवादी केन्द्रका उमेद्वार बिनोद केसीले नारच्याङलाई जलविद्युत र पर्यटनको केन्द्र बनाउने बाम गठबन्धनको योजना रहेको बताउनुभयो । नारच्याङमा निर्माणाधिन जलविद्युत आयोजनामा म्याग्देलीको लगानी र रोजगारी सुनिश्चित गराउन बाम गठबन्धनलाई जिताउन आग्रह गर्नुभयो ।

राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डाक्टर मिनबहादुर श्रेष्ठले नेपालमा राजनितिक स्थिरता कायम गरि जनमुखी, गाउँ केन्द्रित विकास, आर्थिक सम्बृद्धी हाँसील गर्न बाम गठबन्धनको आवश्यकता रहेको बताउनुभयो ।

नेकपा एमालेका जिल्ला सदस्य तेज गुरुङको स्वागत, तोपबहादुर पुनको अध्यक्षता र अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य सुदिन पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा एमालेका नेता सन्तोष रावल, खड्ग गिरी र माओवादीका सुवास विकले मन्तब्य व्यक्त गर्नुभएको थियो ।