दग्नाममा बुथ कब्जा गरे बद्ला लिन्छौ ः वाम गठबन्धन

विकल्प न्यूज/बेनी
कार्तिक २६ गते ।

UML and Maoist
रघुगंगा गाउँपालिकाका केही मतदानस्थललाई विपक्षीदलले कब्जा लिएर एकलौटी मतदान गर्न खोजे त्यसको बदला लिने वाम गठबन्धनले कडा चेतावनी दिएको छ । स्वच्छ,शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान गर्ने नागरिकको अधिकारलाई बञ्चित गर्ने गरि बुथलाई कब्जा लिए त्यसको बद्ला लिने उद्घोष वाम गठबन्धनले गरेको हो ।

मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधि र प्रदेशसभा चुनाव प्रचारको क्रममा आचारसंहिता पालना र सुरक्षा अवस्थाको विषयमा आईतबार म्याग्दीका सरोकारवालाहरुबीच भएको छलफल कार्यक्रममा वाम गठबन्धन तथा माओवादी केन्द्रका जिल्ला नेता चन्द्रवहादुर घिमिरेले त्यस्तो कडा चेतावनी दिनुभएको हो ।

उहाँले रघुगंगा गाउँपालिका ८ कुइनेमंगले,४ दग्नाम,५ मल्कवाङ र ६ पाखापानीमा विपक्षीहरुले मतदान स्थललाई कब्जामा पार्ने रणनीति बनाएको बताउँदै यस क्षेत्रमा सुरक्षाको भरपर्दो व्यवस्था गर्न अनुरोध गर्नुभएको हो ।

२०७० सालको दोस्रो संविधानसभा र हालै सम्पन्न स्थानीय तह निर्वाचनमा ति क्षेत्रहरुमा नेपाली काँग्रेसले बुथ कब्जा गरेको आरोप लगाउँदै नेता घिमिरेले यसपटक पनि त्यस्तो हर्कत भए त्यसको शसक्त प्रतिरोध गरिने उहाँको चेतावनी थियो । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा दग्नाममा नेपाली काँग्रेसले बुथ कब्जा गरि एकलौटी मतदान गरेको बताइएको थियो । दग्नाममा ९ सय १९ मतदाता रहेका छन् ।