म्याग्दीको निर्वाचनः आचारसंहिता र सुरक्षाको विषयमा छलफल

सन्तोष गौतम/विकल्प न्यूज
बेनी २६ कात्तिक ।

मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधि र प्रदेशसभा चुनाव प्रचारको क्रममा आचारसंहिता पालना र सुरक्षा अवस्थाको विषयमा आईतबार म्याग्दीका सरोकारवालाहरुबीच छलफल भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा निर्वाचन आयोगका सहसचिव डाक्टर हरि पौडेल, सहायक निर्वाचन अधिकारीहरु, सुरक्षा अधिकारी, राजनितिक दलका प्रतिनिधिहरुबीच आचारसंहिता पालना र सुरक्षा अवस्थालाई प्रभावकारी बनाउने विषयमा छलफल भएको हो ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न सबै पक्षबाट सहयोगको अपेक्षा व्यक्त गर्दै आचार संहिता पालनाप्रती संवेदनशिल रहन अनुरोध गर्नुभयो ।

उहाँले निर्वाचन बिरोधी कुनै पनि गतिबिधि गर्नेलाई नछाड्ने बताउँदै सुरक्षा अवस्थालाई व्यवस्थित बनाउन जिल्ला भित्र्ने र बाहिरीने नाकाहरुमा चेकजाँच तथा त्यस्ता चुनावी वातावरण बिगार्नेहरुलाई नियन्त्रणमा लिइने बताउनुभयो ।

प्रजिअ अधिकारीले चुनाव प्रचारका क्रममा एकले अर्कोलाई उत्तेजित बनाउने काम नगर्न दलहरुलाई आग्रह गर्दै हालसम्म सौहर्दपूर्ण रुपमा चुनाव प्रचार अभियान चलेको र आचार संहिता उल्लङघन गर्ने केही व्यक्तिहरुलाई सचेत बनाई कारबाही प्रक्रिया अघि बढाइएको बताउनुभयो ।

छलफलमा सहभागी राजनितिक दलका प्रतिनिधिहरुले आचारसंहिता पालनाप्रती सचेत रहेको बताउँदै भयरहित र सुरक्षित वातावरणमा चुनाव सम्पन्न गराउन सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

नेपाली काँग्रेसका जिल्ला सदस्य माधवप्रसाद रेग्मी, नेकपा एमालेका राजकुमार थापा, माओवादी केन्द्रका चन्द्रबहादुर घिमीरे लगायतले सुरक्षा व्यवस्था चुस्त बनाउन सुझाव दिनुभयो ।