विकल्प न्यूज/बेनी
कार्तिक २० गते । आसन्न मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि म्याग्दीमा एक जनामात्र महिला उम्मेदवार हुनुहुन्छ ।
वाम गठबन्धनको साझा उम्मेदवारका रुपमा म्याग्दीको प्रदेशसभा क्षेत्र (ख) मा नेकपा (एमाले)ले नरदेवी पुनलाई उम्मेदवार बनाएको हो । प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई वटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा अन्य १२ जना पुरुष उम्मेदवार छन् ।
मंगला गाउँपालिका १ भरजुलाकी पुन वि.स वि.स २०६४ को निर्वाचनमा माओवादीका गोविन्द पौडेलसंग पराजित हुनुभएको थियो भने २०७०मा एमालेबाटै समानुपातीक सांसद बन्नुभएको थियो ।
पुनसंगै काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा, राष्ट्रिय जनमोर्चा, एकीकृत राप्रपा (राष्ट्रवादी), राष्ट्रिय जनमुक्ति, नयाँ शक्ति नेपाल र मंगोल नेशनल अर्गनाइजेशन पार्टीका १३ जना उम्मेदवार रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिनिधि र प्रदेशसभाको पहिलो चरणको चुनावमा राजनीतिक दलहरुले महिला उम्मेदवार न्युन उठाएको आलोचना भैरहेका अवस्थामा म्याग्दीको प्रदेशसभा क्षेत्र (ख)मा पुनको उम्मेदवारले चर्चा पाएको छ । पुर्व राज्यमन्त्री समेत रहनुभएकी पुनसंग नेपाली काँग्रेसका उम्मेदवार अमलाल फगामीको कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
पुनलाई (माओवादी केन्द्र) ले सघाएको छ भने काँग्रेसका उम्मेदवार फगामीलाई राप्रपा र राप्रपा प्रजातान्त्रीकको साथ छ । राजनीतिक शास्त्रीमा स्नाकोत्तर गरेकी ४९ वर्षिय पुन हाल एमाले निकट अनेमसंघको केन्द्रिय सचिवालय सदस्य हुनुहुन्छ ।
पुनले शिक्षकको स्थाई जागीरबाट राजीनामा दिएर राजनीतिमा होमीनुभएको थियो भने उहाँका प्रतिस्पर्धी मालीका गाउँपालिका ५ देविस्थानका फगामी भारतीय गोर्खा सैनीकको जागीरबाट सेवा निवृत भएर राजनीति र सामाजिक क्षेत्रमा सक्रिय हुनुहुन्छ ।पुनले राष्ट्रिय स्वाधिनता, जनजिविका, महिलाहरुले प्राप्त गरेको अधिकार कार्यान्वयन, महिला अधिकार स्थापित र सम्बृद्ध समाज निर्माणका लागि सक्षम जनशक्ति उत्पादनलाई प्राथमिकता दिने बताउनुभयो । फगामीले दुर्गम ग्रामिण क्षेत्रका बासिन्दालाई राहत पुग्ने गरी सडक निर्माण, स्तरवृद्धी, शिक्षाको गुणस्तर सुधार, घरघरमा खानेपानी र विद्युतीकरण विस्तार योजनालाई प्राथमिकता दिने बताउनुभयो ।
मंगला, मालीका र धौलागिरी गाउँपालिका समावेश भएको प्रदेशसभाको क्षेत्र नम्बर २ मा ३२ हजार ५४५ जना मतदाता छन् । स्थानीय तहको निर्वाचनमा एमालेले मंगला र धौलागिरी गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष तथा मालीका गाउँपालिकाको उपाध्यक्ष जितेको थियो ।
काँग्रेसले मालीका गाउँपालिकाको अध्यक्ष जितेको थियो । स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार पाँच हजार ५९९, एमालेकाले ८ हजार ६४७, माओवादीकाले तिन हजार २६८ र राप्रपाले ७२ मत ल्याएका थिए । यो क्षेत्रमा वाम गठबन्धन बलियो अवस्थामा छ ।