सन्तोष गौतम /विकल्प न्यूज
म्याग्दी १८ कात्तिक ।
म्याग्दीको बेनीमा रहेको न्यू धौलागिरी बचत तथा ऋण सहकारी संस्थाले एक दृष्टिविहीन विद्यार्थीको पढाईका लागि आर्थिक सहयोग गरेको छ ।
१८ औ वार्षिक साधारणसभा तथा छैठो अधिवेशनको अवसरमा शनिबार बेनपा ९ का गोपाल खत्रीलाई ३३ हजार रुपैयाँ नगद सहयोग गरेको हो । म्याग्दी बहुमुखी क्याम्पसको स्नातक तह दोस्रो वर्षमा अध्ययनरत दृष्टिबिहीन खत्रीलाई आर्थिक अभावमा पढाईलाई अघि बढाउन समस्या परेको थियो ।
संस्थाले वार्षिक रुपमा म्याग्दी बहुमुखी क्याम्पसका ३, प्रकाश माविका १ र जामुनाखर्क मावीका २ जना उत्कृष्ट विद्यार्थीलाई उच्च शिक्षाका लागि छात्रावृती प्रदान गर्दै आएको छ । म्याग्दी बहुमुखी क्याम्पसमा स्नाकोत्तर तह सञ्चालनका लागि आयोजित महायज्ञमा ५५ हजार रुपैयाँ सहयोग गरेको अध्यक्ष लिलाबहादुर बानियाँले बताउनुभयो ।
“बजारबासीको सहयोग र विश्वासका कारण विकास बैङ्क सरहको कारोबार गर्न सफल भएका छौ” अध्यक्ष बानियाले भन्नुभयो “मुनाफाको केही हिस्सा शिक्षा र सामाजिक क्षेत्रमा सहयोग गरेका छौ ।”
३५ जनाको दुई करोड ५५ लाख १८ हजार ४०० रुपैयाँ शेयर पुँजी रहेको सहकारीले गत आर्थिक वर्ष २०७३७४ मा २९ करोड ४९ लाख ३८ हजार २२१ रुपैयाँ निक्षेप संकलन र ३२ करोड ११ लाख २२ हजार ६६५ रुपैयाँ कर्जा लगानी गरेको सचिव राम्जीप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
३५ लाख ९२ हजार १८८ रुपैयाँ सञ्चालन मुनाफा गरेको सहकारीले सात लाख २० हजार ११८ रुपैयाँ राजस्व तिरेको छ । अधिवेशनले लिलाबहादुर बानिया अध्यक्ष, अमृतलाल श्रेष्ठ उपाध्यक्ष, राम्जीप्रसाद सुवेदी सचिव, चन्द्रकुमार केसी कोषाध्यक्ष रहेको सञ्चालक समिति गठन गर्नुका साथै अन्य सहकारी संस्थासंग एकिकरण र सेयर पुँजी वृद्धि गर्ने निर्णय गरेको छ ।
सहकारीको सदस्यहरुमा रुद्रबहादुर केसी, बमबहादुर पुन, बिमला गौचन, जनकराज पाण्डे, कृष्णकुमार शेरचन, बिरेन्द्रमान शाक्य, वुद्धिप्रसाद छन्त्याल र लेखा समिति संयोजकमा सुरत केसी निर्वाचित हुनुभएको छ ।