विकल्प न्यूज/बेनी
कार्तिक १७ गते ।
नेपाल मगर विद्यार्थी संघ म्याग्दीले तिहार पर्वको अवसरमा देउसी भैलो खेलेर संकलन गरेको रकम बिरामीको उपचारका लागि सहयोग गरेको छ ।
ब्रेनट्युमर रोगबाट थलीएको रघुगंगा गाउँपालीका ४ दग्नामकी करुणा गर्बुजाको उपचारका लागि शुक्रबार संघले पाँच हजार ५५५ रुपैया सहयोग गरेको हो । संघका अध्यक्ष श्याम थापा, पदाधीकारी र सदस्यहरुको टोलीले ओमकुमारी शान्ति कोषद्धारा सञ्चालीत करुणा बचाउ अभियानका संयोजक देवेन्द्र फगामीलाई रकम हस्तान्तरण गर्नुभएको थियो ।
संघले सोही अवसरमा परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई पाँच हजार ५५५ रुपैया सहयोग गरेर आजिवन सदस्यता लिएको छ । सो कार्यक्रममा धौलागिरी गाउँपालीका ५ मल्कवाङका रवीन छन्त्यालले करुणाको उपचारका लागि एक हजार रुपैया सहयोग गर्नुभएको थियो । कोषका अध्यक्ष राजेश शाक्यको अध्यक्षता र सदस्य सन्दिप खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
यसैगरी मगर विद्यार्थी संघ म्याग्दीले तिहार पर्वको अवसरमा खेलेको देउसीभैलोबाट दुई लाख ३२ हजार ८७९ रुपैया बचत भएको जनाएको छ । बेनी बजारमा खेलीएको देउसीभैलोबाट तिन लाख ५५ हजार १११ रुपैया संकलन भएकोमा एक लाख २२ हजार २३२ रुपैया खर्च भई उक्त रकम बचत भएको संघले जनाएको छ ।
संघको बेनी सामुदायीक ईकाई समितिको नेतृत्वमा आगामी हप्ता बेनपा ५ बगुवाखोलामा रहेको बालजागृती आधारभुत विद्यलयमा सञ्चालीत बौद्धीक अपाङगता स्रोत कक्षालाई खाद्यान्न र लत्ताकपडा सहयोग गर्ने जनाएको छ ।