सन्तोष गौतम /विकल्प न्यूज
म्याग्दी १६ कात्तिक । म्याग्दीका मुख्य निर्वाचन अधिकृत रामकुमार कोईरालाले जनताले निर्भीकताको साथ मताधिकारको प्रयोग गर्ने वातावरण बनाउनुपर्ने बताउनु भएको छ ।
जिल्ला निर्वाचन कार्यालयले बिहीबार बेनीमा सञ्चारकर्मीहरुका लागि आयोजना गरेको निर्वाचन सम्बन्धि अभिमुखीकरण कार्यक्रममा जिल्ला अदालतका न्यायाधिश समेत रहनुभएका कोईरालाले यस्तो बताउनुभएको हो ।
उहाँले आगामी मंसिर १० गते गते पहिलो चरणमा हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण रुपमा सम्पन्न गराउनका लागि सबै पक्षको सहयोगको आवश्यकता रहेको बताउनुभयो ।
निर्वाचनलाई भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गराउनका लागि सन्तुलित, वास्तवीक र स्वतन्त्र हिसावले सूचना सम्प्रेशण गर्न सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभयो । प्रमुख जिल्ला अधिकारी कृष्णप्र्रसाद अधिकारीलाई चुनाव सफल बनाउन सबैले आफ्नो आचार संहिता पालना गर्नुपर्ने बताउनुभयो ।
सो कार्यक्रममा नेपाल पत्रकार महासंघका शाखा अध्यक्ष तारानाथ शर्मा र नागरीक समाजका संयोजक सुर्दशनकुमार श्रेष्ठले प्रतिनिधि र प्रदेशसभा निर्वाचन सम्बन्धि विषयमा सहजिकरण गर्नुभएको थियो ।
जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले चुनावको तयारी तिब्र बनाइएको बताउनुभयो । उहाँका अनुसार ७२ मतदान स्थल रहेको म्याग्दीमा १०६ वटा मतदान केन्द्र कायम भएको छ । गत स्थानीय तह निर्वाचनको तुलनामा मतदाता संख्या बढेकाले चार वटा मतदान केन्द्र थपिएका हुन् ।
दुईदुई वटा मतदान केन्द्र रहेको धौलागिरी मावि सिंगा, महेन्द्ररत्न मावि बरंजा, मंगला मावि बाबियाचौर र एक वटा मतदान केन्द्र रहेको ज्ञानोदय मावि मौवाफाँटमा एकएक वटा मतदान केन्द्र थपिएको हो ।
यसैगरी बेनी नगरपालीका, रघुगंगा र अन्नपूर्ण गाउँपालीका समावेश भएको प्रदेशसभा क्षेत्र क मा २२ हजार ६५६ जना महिला, २० हजार ३३६ पुरुष, एक तेस्रो लिङ्गी गरी ४२ हजार ९३३ जना मतदाता रहेका छन् ।
मंगला, मालीका र धौलागिरी गाउँपालीका समावेश भएको प्रदेशसभा क्षेत्र (ख)मा १५ हजार ७६६ जना पुरुष, १६ हजार ७७९ जना महिला गरि कुल ३२ हजार ५४५ जना मतदाता रहेको निर्वाचन अधिकारी पौडेलले बताउनुभयो ।
जिल्लाभर ७५ हजार ३८७ जना मतदाताले आगामी चुनावमा मतदान गर्न पाउने भएका छन् । सो कार्यक्रमको सञ्चालन नायव सुब्बा बलबहादुर खत्रीले गर्नुभएको थियो ।