विकल्प न्यूज/बेनी
कार्तिक १४ गते ।
मंगला, मालीका र धौलागिरी गाउँपालिका समावेश भएको प्रदेशसभाको क्षेत्र नम्बर ख मा ३२ हजार ५४५ जना मतदाता छन् । वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी नरदेवी पुन निवर्तमान सांसद र पुर्व पशुपक्षि विकास राज्य मन्त्री हुन् । पुन म्याग्दीकी एक्ली महिला उम्मेदवार समेत हुन । जिवनलाई नै राजनीतिमा समर्पण गरेकी पुन लामो समय म्याग्दीको राजनीतिमा कृयाशिल छिन् ।
नेपाली काँग्रेसका उम्मेदवार अमलाल फगामी भारतीय गोर्खा सैनीकको सेवा निवृत भएपछि राजनीति क्रियाशिल रहदै आएका छन् । शिक्षकको स्थाई जागीर छोडेर राजनीतिमा होमीएकी कुहुँकी पुन र देविस्थानका फगामी दुवै मगर समुदायका हुन् ।
स्थानीय तहको निर्वाचनमा एमालेले मंगला र धौलागिरी गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष तथा मालीका गाउँपालिकाको उपाध्यक्ष जितेको थियो । काँग्रेसका युवा नेता श्रीप्रसाद रोका मालीका गाउँपालिकाको अध्यक्षमा बिजयी भएका थिए । रोकाको विजय सँगै काँग्रेसले पश्चिम म्याग्दीको मालिकालाई आधारक्षेत्र मान्छ । भने मंगला गाउँपालिका एमालेको बलियो आधारक्षेत्र हो । यस क्षेत्रमा माओवादी केन्द्रको पनि बलियो संगठन छ ।
स्थानीय तह निर्वाचनमा वडा अध्यक्षहरुले पाएको मतको आधारमा प्रदेशसभाको क्षेत्र नम्बर २ मा वाम गठबन्धन छ हजार २४४ मतले अघि छ । नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार पाँच हजार ५९९, एमालेकाले ८ हजार ६४७, माओवादीकाले तिन हजार २६८ र राप्रपाले ७२ मत ल्याएका थिए ।
राप्रपाले प्रदेश सभाको क्षेत्र नम्बर २ मा काँग्रेसका उम्मेदवार फगामीलाई सघाएको छ भने माओवादीले एमालेकी उम्मेदवार पुनलाई । राप्रपा प्रजातान्त्रीकका तिलाराम दमैले पनि उम्मेदवारी फिर्ता लिएर लोकतान्त्रीक गठबन्धनलाई सघाउने निर्णय गरेपनि उसको आधार कमजोर छ । ठूलो मतान्तरका विच यसले खासै फरक पार्न सक्ने देखिदैन ।
लामो समयदेखि स्थानीय स्तरको विकास निर्माणमा सक्रिय व्यक्तिलाई उम्मेदवार बनाएको, विगतका तुलनामा संगठनमा सुधार आएकाले जित्ने काँग्रेसको दावी छ । तालमेल र पार्टी एकिकरण गर्ने घोषणाले कारण एमाले, माओवादीका स्थानीय नेता कार्यकर्तामा उत्साह छाएको तथा पहिलेदेखिनै बलीयो संगठन भएको र महिला नेतालाई अघि सारेकाले चुनावी परिणाम आफ्नो पक्षमा पर्ने वाम गठबन्धनको दावी छ । ठूलै मतान्तरका साथ चुनावी जित्ने वाम गठबन्धन आशा गरेको छ । तर यता नेपाली काँग्रेसले पनि जित्ने दावी गरेको छ ।
दुवै गठबन्धनले चुनाव जित्ने दावी गरेपनि उनिहरुले उठाएको एजेण्डा, उम्मेदवार व्यक्तिगत प्रभाव, संगठन परिचालन, प्रचारप्रसार र विगतमा गरेका काम पनि चुनावी जितमा सघाउन सक्ने देखिन्छ भने । अन्तिम अवस्थामा हुने गरेको आर्थिक चलखेलले समेत चुनावी परिणामलाई प्रभाव पार्ने गरेको छ ।