सन्तोष गौतम/विकल्प न्यूज
बेनी १२ कात्तिक ।
म्याग्दीमा यस वर्ष ५७ वटा सामुदायिक सिकाई केन्द्र सञ्चालन गरिने भएको छ । विगतका वर्षमा सञ्चालीत साक्षरता कक्षामा सहभागी भएर लेखपढ गर्न जानेकाहरुको क्षमता विकास र सिकाईलाई निरन्तरताका लागि सामुदायिक सिकाई केन्द्र सञ्चालन गर्न लागीएको हो ।
जिल्ला शिक्षा कार्यालय म्याग्दीले बेनीमा आयोजना गरेको कार्यक्रममा विद्यालय निरिक्षक रामकरण पालले गत वर्ष सञ्चालीत २२ वटा सिकाई केन्द्रलाई निरन्तरता र यस वर्ष थप ३५ वटा केन्द्र सञ्चालन गरिने जानकारी दिनुभयो ।
अनौपचारीक शिक्षा तथा निरन्तर सिकाई कार्यक्रम मार्फत सञ्चालन हुने सिकाई केन्द्रमा ८५८ जनालाई सहभागी बनाउने लक्ष्य राखिएको छ । माघ देखि चार महिना सञ्चालन हुने सिकाई केन्द्रमा आधारभुत शैक्षिक ज्ञान प्रदान गरिने विद्यालय निरिक्षक पालले बताउनुभयो ।
सो कार्यक्रम सञ्चालनका लागि शिक्षा कार्यालयलाई यस वर्ष १८ लाख ९४ हजार ३९० रुपैयाँ बजेट प्राप्त भएको छ । सबै सिकाई केन्द्रमा एक जनाका दरले सहजकर्ता समेत परिचालन गरिने भएको छ । एउटा कक्षामा १५ जना सहभागी हुनेछन् ।
कार्यक्रममा जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले म्याग्दीलाई आगामी माघ ८ गते साक्षर जिल्ला घोषणा गर्ने निर्णय भएको जानकारी गराउँदै तयारी सुरु गरिएको बताउनुभयो । साक्षर भएका नागरीकको क्षमत्ता विकास र सिकाईको निरन्तरताका लागि सिकाई केन्द्र सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो ।
स्रोत व्यक्ति मोहन बानियाँले सञ्चालन गर्नुभएको कार्यक्रममा बेनपा ६, ७ र ९ का वडा अध्यक्षहरु कृष्णबहादुर बानियाँ, राजेन्द्र श्रेष्ठ र बेलबहादुर कटुवालले सिकाई केन्द्रको प्रभावकारीताका लागि सहभागीहरुको निरन्तरतामा जोड दिनुभयो ।
प्रकाश मावीका प्रअ हरिकृष्ण सुवेदीले कक्षा ८ उतिर्ण गरेर बिचैमा पढाई छाडेकाहरुका लागि खुल्ला विद्यालयमा भर्ना भएर एसईई परिक्षामा सहभागी हुने व्यवस्था रहेको बताउनुभयो । प्रकाश माविका वि.स २०६६ देखि सञ्चालीत सो खुल्ला विद्यालयमा यस वर्ष १६ जना भर्ना भएका छन् ।