विकल्प न्यूज/बेनी
कार्तिक १२ गते ।
म्याग्दीको रघुगंगा गाउँपालीका २ भगवतीको माझखर्कमा स्थानीय बासीन्दाको पहलमा बालकक्षा सञ्चालन भएको छ ।
माझखर्कका बालबालीकालाई गाउँमै पूर्व प्राथमिक तहको शिक्षा प्रदान गर्ने सुबिधाका लागि बाल कक्षा सञ्चालन गरिएको हो । बालकक्षा पढ्नका लागि पाँच वर्ष मुनीका बालबालीकाहरु दैनिक एक घण्टा हिडेर जानुपर्ने बाध्यता हटेको छ । २० जना भन्दा बढी बालबालीका लाभान्वित भएका छन् ।
बालकक्षा सञ्चालनका लागि स्थानीय बासिन्दाको पहलमा तिन लाख ६८ हजार रुपैया सहयोग संकलन गरिएको छ । भगवतीका लोकबहादुर भण्डारीले सबैभन्दा बढी एक लाख ११ हजार १११ रुपैया सहयोग गर्नुभएको छ । रघुगंगा गाउँपालीकाको कार्यालयले एक लाख पचासह हजार रुपैया सहयोग गरेको छ भने अन्य रकम स्थानीयबासी र संघ संस्थाबाट चन्दा संकलन गरेर जुटाइएको हो ।
बालकक्षाको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले शनिबार उद्घाटन गर्नुभयो । उहाँले बालकक्षा सञ्चालन भएपछि समुदायको शिक्षामा पहुँच पुग्ने विश्वास गर्दै यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
रघुगंगा गाउँपालीकाका अध्यक्ष भवबहादुर भण्डारी र वडा अध्यक्ष रिमबहादुर कटुवालले बालबालिकाको आधारभुत तहको शिक्षामा पहुँच बढाउन सञ्चालन गरिएको बालशिक्षालाई अझै व्यवस्थित र प्रभावकारी बनाउन आफ्नो ठाउँबाट सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा सहयोगदाता लोकबहादुर भण्डारी, तर्क केसी, देवेन्द्रबहादुर मल्ल, तप्त थापा, श्रोतव्यक्ति दुतबहादुर पुन, रघुगंगा गाउँपालीकाका स्वास्थ्य संयोजक राजकुमार शाही, तोपबहादुर केसी, बलबहादुर सुनार लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।
बालकक्षा सञ्चालक समितिका अध्यक्ष बालकृष्ण कार्की (ख)को अध्यक्षता, निलगिरि आमा समुहकी अध्यक्ष लक्ष्मी कार्कीको स्वागत मन्तव्य र बालकृष्ण कार्कीको सञ्चालनमा सम्पन्न कार्यक्रममा सहयोगदाताहरुलाई सम्मान गरिएको थियो ।