सन्तोष गौतम /विकल्प न्यूज
म्याग्दी ११ कात्तिक ।
म्याग्दी उद्योग वाणिज्य संघको २४ औ साधारणसभा तथा दसौ अधिवेशन शनिबारदेखि बेनीमा सुरु भएको छ ।
अधिवेशनको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले म्याग्दीमा पर्यटन, उर्जा र कृषिको आधुनिकीकरणमा लगानी गर्न ईच्छुक रहेको बताउँदै आवश्यक वातावरण र सुरक्षाको व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।
“म्याग्दीका उद्योगी, व्यवसायी र लगानीकर्तासंग मिलेर कुनै प्रोजेक्ट बनाउने ईच्छा छ” ढकालले भन्नुभयो “संयुक्त लगानी भित्र्याउने वातावरण मिलाउन जिल्लाका सरोकारवालाले पहल गर्नुहोस ।” पर्यटन, जलविद्युतको विकास, कृषिको आधुनिकीकरण मार्फत रोजगारी सिर्जना गरी आत्मनिर्भर बनाउन सकिने बताउनुभयो । हालै पारित भएको श्रम र सामाजिक सुरक्षा ऐनले उत्पादनशिल क्षेत्रमा निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहीत गरेको उपाध्यक्ष ढकालको भनाई थियो । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि देशमा राजनितिक स्थिरता कायम भई लगानीको वातावरण बन्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा म्याग्दी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष प्रमोद श्रेष्ठ र ४ नम्बर प्रदेशका अध्यक्ष सञ्जिव कोईरालाले लगानी भित्र्याउनका लागि स्थानीय वातावरण र झञ्झटीलो सरकारी प्रक्रियालाई सहज बनाउनुपर्ने बताउनुभयो ।
बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठ, पुर्व सांसद नवराज शर्मा, रेशमबहादुर बानिया, गोविन्द पौडेलले म्याग्दीको पर्यटन र जलविद्युतको क्षेत्रमा लगानी भित्र्याउन निजी क्षेत्रलाई आग्रह गर्नुभयो । कार्यक्रममा नेपाली काँग्रेसका कोषाध्यक्ष टंक हमाल, एमालेका सचिव बालकृष्ण सुवेदी, माओवादी केन्द्रका किरन थापा, राप्रपाका अध्यक्ष बिरबहादुर थापा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष छवी विश्वकर्मा, म्याग्दी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सुर्दशन श्रेष्ठ, कुबिर श्रेष्ठले मन्तब्य व्यक्त गर्नुभएको थियो ।
यसैगरी उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ठहरबहादुर भण्डारी र नेपाल पत्रकार महासंघका अध्यक्ष तारानाथ शर्माले पनी शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता गर्नुभएका संघका अध्यक्ष जिवनबहादुर विश्वकर्माले संघको गतिबिधिको बारेमा जानकारी गराउनुभयो ।
बेनी बजारमा सिसीटिभी क्यामेरा जडान, धौलागिरी सेञ्चुरी पदमार्गको पहिचान र नक्साङकन्, कोरला नाका सञ्चालनका लागि दवाव सिर्जना, घुम्ती कर शिवीर सञ्चालन, एक गाउँ एक उत्पादन कार्यक्रम अन्तरगत टिम्मुर खेती प्रर्वद्धन, बेनी बजार संरक्षण अभियान, स्थानीय उत्पादनको बजारीकरण र कला संस्कृती संरक्षणका लागि महोत्सव सञ्चालन लगायतका काम गरेको जानकारी गराउनुभयो ।
बरिष्ठ उपाध्यक्ष उत्तम कर्माचार्यले समापन गर्नुभएको कार्यक्रमको सञ्चालन महासचिव राजेश शाक्यले गर्नुभएको थियो । अधिवेशनबाट तिन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन हुनेछ ।