सन्तोष गौतम /विकल्प न्यूज
बेनी २ कात्तिक ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीले सामाजिक विकृतीको रुपमा रहेको जुवा नियन्त्रण “अपरेशन”लाई तिब्रता दिएको छ ।
बेनीका जुवाघरहरुमा छापा मारेर प्रहरीले दैनिकजसो जुवाडेहरु पक्राउ गर्न थालेको हो । ब्यवसायीक रुपमा जुवा खेलाईने ठाउँमा प्रहरीले छापा मार्न थालेपछि जुवाडेहरुको भागाभाग भएको छ ।
एक हप्तायता तिन वटा जुवाघरमा छापा मारेर २३ जना जुवाडेहरुलाई पक्राउ गरिसकेको छ । असोज २८ गते बेनीको पिपलचोक स्थित दिपशिखा होटलमा छापा मारेर सो होटलका सञ्चालक लेखनाथ शर्मा समेत ७ जना पक्राउ परेका थिए ।
दिपशिखा होटलको जुवा खालबाट नगद तेह् हजार र ४ बुक तास बरामद भएको थियो । असोज ३१ गते बेनपा ९ गलेश्वर स्थित रमेश पुनको घरमा छापा मार्दा घरधनी पुन सहित तास खेलीरहेका ९ जना पक्राउ परेका छन् । उनिहरुको साथबाट नगद तिन हजार ८०० रुपैया र ४ बुक तास बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कात्तिक १ गते बेनपा ८ स्थित कुमारी पुनको घरमा छापा मारेको प्रहरीले पुन सहित ७ जनालाई तास खेल्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनिहरुको साथबाट नेपाली नोट, भारतीय नोट र जुवा खेल्न प्रयोग गरिने क्वाईन समेत बरामद गरिएको छ ।
पक्राउ परेका जुवाडेहरुको नाम भने प्रहरीले सार्वजनीक गरेको छैन् । पक्राउ पर्ने जुवाडेहरुमा राजनितिक कार्यकर्ता, जनप्रतिनिधि देखि समाजका बरिष्ठ भनिएका व्यक्तिहरु समेत रहेको बुझीएको छ ।
अन्य जुवाघरहरु पत्ता लगाउन र जुवाडे पक्राउ गर्न तथा अनुसन्धान प्रभावीत हुने भएकाले नाम सार्वजनीक नगरिएको प्रहरीले दावी गरेपनी राजनितिक दवाव र प्रभाव सहायक कारण मानिएको छ ।
बेनीमा कोठा भाडा लिएरै ब्यवसायीक रुपमा जुवा तास खेलाउने गरेको बताइपनी प्रहरीले यसपाली देखि जुवातास नियन्त्रण अभियानलाई तिब्रता दिएको छ । जुवाडे पक्राउ गर्न सफल भएको छ । गत असारमा बैङ्करोडको एक घरमा सञ्चालीत जुवाघरमा छापा मारेपछि जुवा घरहरुको पोल खुल्दै गएको छ ।
पक्राउ परेका जुवाडे र जुवाघर सञ्चालकहरुले पोल खोलेपछि जुवाघरमा प्रहरीले छापा मार्ने क्रमलाई तिब्रता दिएको हो । प्रहरीले सक्रियता बढाएपछि ठूला र व्यवसायीक जुवाघर सञ्चालकहरुले स्थान परिवर्तन गरेको बताइएको छ । जुवाघरहरुमा छापा मार्ने क्रमलाई अझै तिब्र बनाउनुपर्ने बजारबासीहरुको भनाई छ ।