शिक्षा कार्यालयको बजेट सार्वजनिक

विकल्प न्यूज/बेनी
कार्तिक १ गते ।

edu office myagdiजिल्ला शिक्षा कार्यालय म्याग्दीले चालु आर्थिक वर्ष २०७४/७५ मा कार्यालय मार्फत सञ्चालन हुने योजना तथा कार्यक्रमहरुको बुधबार बजेट सार्वजनिक गरेको छ ।

विद्यालय क्षेत्र विकास कार्यक्रम तर्फ चालु आर्थिक वर्षको नौ करोड ४४ लाख ४९ हजार रुपैयाँ बजेट बिनियोजन भएको जानकारी गराइएको हो । शिक्षकको तलब भत्ता, छात्रवृत्ती वितरण, पाठ्यपुस्तक खरिद र पिसीएफ अनुदानको बजेट भने स्थानीय तहमा गएको जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले बताउनुभयो ।

पूर्वाधार निर्माण सहित विभिन्न ५७ वटा शिर्षकका कार्यक्रम सञ्चालन गर्न शिक्षा कार्यालयलाई बजेट प्राप्त भएको हो । ११ वटा विद्यालयमा फर्नीचर सहित दुई कोठे भवन निर्माणका लागि एक करोड ६७ लाख रुपैयाँ बजेट प्राप्त भएको छ । प्रति कोठा आठ लाख रुपैयाँका दरले बजेट प्राप्त भएको हो ।

यसैगरी बहुबर्षे ४ कोठे कक्षा कोठा भवन निर्माणका लागि यस वर्ष एक करोड ४४ लाख रुपैयाँ प्राप्त भएको छ । ८ वटा विद्यालयलाई ४ कोठे भवन निर्माणका लागि बजेट वितरण गरिएको छ । वास सुबिधा सहितको ९ वटा शौचालय बनाउन ५४ लाख रुपैयाँ बजेट प्राप्त भएको छ ।

१२५ वटा विद्यालय मर्मतका लागि पचास हजार रुपैयाँका दरले बजेट प्राप्त भएको छ । २५ वटा कोठा राखेर १०० वटा विद्यालयलाई मर्मत योजनाको बजेट वितरण गरिएको छ । स्थानीय तहका प्रमुख उपप्रमुख, कार्यकारी अधिकृत र प्रअहरुलाई कार्यक्रमको बारेमा जानकारी गराइसकेको शिक्षा कार्यालयले भवन निर्माण योजनाको बजेट समेत वितरण गरिसकेको शाखा अधिकृत दलबहादुर थापाले बताउनुभयो ।

कम्प्युटर र प्रोजेक्टरको प्रयोग गरेर पठनपाठन गराउन १५ वटा विद्यालयलाई छ लाख पचास हजार रुपैयाँका दरले अनुदान सहयोग गरिने भएको छ । गत वर्ष उक्त योजनाका लागि ४२ वटा विद्यालयलाई डेढ लाखका दरले अनुदान दिइएको थियो । गणीत, अंग्रेजी र विज्ञान शिक्षकले ल्याप्टप र प्रोजेक्टरको प्रयोग गरेर अध्यापन गराउने लिखीत सम्झौता गरेपछि मात्र योजना पाउनेछन् ।

यसैबीच म्याग्दीका स्थानीय तहमा शिक्षकहरुको तलबभत्ताका लागि आवश्यक भन्दा कम बजेट प्राप्त हुँदा समस्या भएको छ । तलबका लागि कम बजेट आएकाले कतिपय स्थानीय तहले अन्य शिर्षकको बजेटबाट पहिलो चौमासीकमा शिक्षक कर्मचारीलाई तलब खुवाएका छन भने अन्नपूर्ण गाउँपालिकाले दुई महिनाको तलब खुवाउन सकेको छैन् ।

अन्नपूर्ण गाउँपालिकामा शिक्षक कर्मचारीको तलबभत्ताका लागि आठ करोड रुपैयाँ बजेट आवश्यक पर्नेमा पाँच करोड रुपैयाँ मात्र प्राप्त भएको छ भने बेनी नगरपालिकामा १४ करोड आवश्यक रहेकोमा ११ करोड रुपैयाँ प्राप्त भएको छ । अपुग बजेट थप गर्न मन्त्रालयमा पहल गरिएको शिक्षा कार्यालयले जनाएको छ ।