विकल्प न्यूज/बेनी
असोज २६ गते ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरेबगरमा भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी बुधबार ६५ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादी केन्द्रका नेता कुलबीर राम्जालीको नेतृत्वमा अन्नपूर्ण गाउँपालिकामा क्रियाशिल विभिन्न पार्टी परित्याग गरी ६५ जनाको समूह प्रवेश गरेको नेकपा एमाले म्याग्दीले जनाएको छ ।
उनीहरुलाई पार्टीमा स्वागत गर्दै नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य भूपेन्द्र थापाले वाम एकताले देशलाई समृद्धतर्फ लैजाने र देश विकासको गतिमा अघि बढ्ने बताए । उनले वाम एकतालाई सबैले सकारात्मक रुपमा लिनुपर्ने बताउँदै एकतामा सबै नेता, कार्यकर्ता तथा आम जनसमूदायलाई सामेल हुन आग्रह गरेका छन् ।
सोही कार्यक्रममा बोल्दै नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले मुलुकको आर्थिक विकास र निकासका लागि वाम एकताले आवश्यक भूमिका खेल्ने बताए । सोही अवसरमा नारायण पुनको संयोजकत्वमा ३०१ सदस्यीय अन्नपूर्ण गाउँपालिकास्तरीय निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । कमिटीको सहसंयोजकमा बुद्धि पुन, सचिवमा खड्ग गिरी र प्रमुख सल्लाहकार कुलबिर राम्जाली रहेका छन्भने आगामी कार्तिक दोस्रो सातासम्म गाउँपालिकाको ८ वटै वडामा पार्टीको भेला र बैठक गर्ने निर्णय गरिएको संयोजक पुनले जानकारी दिए ।
कार्यक्रममा एमाले जिल्ला सचिव बालकृष्ण सुवेदी, जिल्ला समन्वय समिति सदस्य बोमायाँ गर्बुजा, जिल्ला कमिटी सचिवालय सदस्य सन्तोष रावल, कुलविर राम्जाली, जिल्ला सदस्य श्याम राना, ओमप्रसाद फगामी, बुद्धि पुन र माओवादी केन्द्रका पूर्व जिल्ला सदस्य फौदबहादुर बरुवालले मन्तव्य राखेका थिए ।
नेकपा एमाले अन्नपूर्ण गाउपालिका सङ्गठन कमिटी संयोजक गोकुल बरुवालको अध्यक्षता र जिल्ला कमिटी सदस्य नारायण पुनको सञ्चालन सम्पन्न कार्यक्रममा प्रदेश नम्बर ४ का स्थानीय पूर्वाधार विभाग सदस्य खड्ग गिरीले स्वागत गरेका थिए ।