सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २१ असोज ।
सहकारी तथा गरिवी निवारण राज्यमन्त्री चम्पादेवी खड्काले सहकारी संस्थाहरुलाई समाज रुपान्तरण र गरिबी निवारणको क्षेत्रमा केन्द्रित हुन निर्देशन दिनुभएको छ ।
बेनीमा रहेको दिदीबहीनी बचत तथा ऋण सहकारी संस्थाको शनिबार छैठौ वार्षिक साधारणसभा उद्घाटन कार्यक्रममा राज्यमन्त्री खड्काले समाज रुपान्तरण, महिला शशक्तिकरण र गरिवी निवारणको क्षेत्रमा केन्द्र्रित हुन निर्देशन दिनुभएको हो ।
संसोधीत सहकारी ऐनले सहकारीको भुमिकालाई अझै फराकीलो बनाएको बताउदै राज्यमन्त्री खड्काले बचत तथा ऋण लगानी गरी नाफा कमाउने काममा मात्र नभई सहकारीको मुल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गर्नुपर्ने बताउनुभयो ।
राज्यमन्त्री खड्काले दिदीबहीनी सहकारी संस्थाले गरेको सामाजिक कार्य उदाहरणीय भएको बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारी, बचत तथा ऋण सहकारी संघका केन्द्रिय सदस्य चण्डीप्रसाद शर्मा, जिल्ला सहकारी संघका अध्यक्ष दिपक कार्कीले मन्तब्य व्यक्त गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष जमुना आचार्यको अध्यक्षता, उपाध्यक्ष ज्योती लामीछाने पौडेलको स्वागत र सचिव बिष्णु गौतम सापकोटाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा उत्कृष्ट कारोबारकर्ता, सेयर सदस्य, कर्मचारी र पत्रकारहरुलाई सम्मान गरिएको थियो ।
एचआईभी संक्रमितहरुको सहयोगका लागि स्थापित गुप्तसवा मार्ग दर्शन सहयोगी समिति र बेनपा ६ की एकल तथा विपन्न परिवारकी सिता बानियालाई खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको थियो । महिलाहरुको मात्र सहभागीता र व्यवस्थापनमा सञ्चालित सहकारीले गरिब, विपन्न, असाहय, अपाङ्ग, विपद्बाट प्रभावीत व्यक्तिहरुलाई नगद तथा खाद्यान्न सहयोग गर्दै आएको छ ।
वि.स २०६८ सालमा स्थापना भएको सहकारीमा ७५३ जना सदस्यको चार करोड २१ लाख पचास हजार रुपैयाँ सेयर पुँजी रहेको छ । गत आर्थिक वर्षमा सात करोड ३७ लाख ९९ हजार ८४९ रुपैयाँ निक्षेप संकलन गरेको सहकारीले दश करोड २५ लाख ५२ हजार २९३ रुपैयाँ लगानी गरेको छ ।
गत वर्ष ११ लाख ५७ हजार ९३८ रुपैयाँ मुनाफा भएको संस्थाले जनाएको छ । उक्त सहकारी संस्था वि.स २०७३ मा ६० औ राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारी डिभिजन कार्यालय बागलुङद्धारा धौलागिरी क्षेत्रकै उत्कृष्ट सहकारी संस्थाको रुपमा सम्मानीत भएको थियो ।