सन्तोष गौतम
बेनी २० असोज । नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सिपी गजुरेलले नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति बीचको चुनावी तालमेल र पार्टी एकीकरण गर्ने सहमतीलाई वामपन्थी आन्दोलनका दक्षिणपन्थीहरुको गठनबन्धन भएको टिप्पणी गर्नुभएको छ ।
बेनीमा शुक्रबार पत्रकारहरुसंग कुराकानी गर्दै देशभक्त राष्ट्रभक्त जनतान्त्रीक मोर्चाका संयोजक समेत रहेका गजुरेलले एमाले, माओवादी केन्द्र र नयाँ शक्तिका नेताहरुले सत्ता स्वार्थका लागि वाम एकताको नाममा जनता ठग्ने खेल खेलेको बताउनुभयो ।
वामपन्थी सिद्धान्त र मान्यता त्यागीसकेका पार्टीहरुको वाम एकता नभएर वामपन्थी आन्दोलनभित्रका प्रतीगामी र दक्षिणपन्थीहरुको गठबन्धन मात्र भएको नेता गजुरेलले टिप्पणी गर्नुभयो ।
नेपालमा राजनितिक समस्या समाधान भईनसकेकाले एमाले, माओवादी र नयाँ शक्तिका नेताहरुले भनेजस्तो समाजवादी व्यवस्थातर्फ देश अघि बढ्न सक्ने अवस्था भईनसकेको गजुरेललेको दावी थियो । उहाँले सच्चा वामपन्थी र क्रान्तिकारी शक्तिहरुबीच समेत धु्रबीकरण सुरु हुने जानकारी दिनुभयो ।
नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा, मोहन विक्रम सिङको नेकपा मसाल, नेपाल मजदुर किसान पार्टी लगायत दलहरुसंग संयुक्त मोर्चाबन्दी गरेर अघि बढ्ने विषयमा छलफल सुरु भएको गजुरेलले बताउनुभयो । उहाँले राजनितीक धु्रबीकरणको नाममा राष्ट्र हितवीपरीतको काम हुन सक्नेतर्फ सचेत रहनुपर्ने बताउनुभयो ।
उहाँले नेकपा क्रान्तिकारी माओवादीको आसन्न केन्द्रिय सम्मेलनको तयारी तिब्र रुपमा भैरहेको र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई उपयोग गर्न उमेद्वारी दिएर चुनावमा सहभागी हुने बताउनुभयो ।