काँग्रेस म्याग्दीद्धारा प्रतिनिधि र प्रदेशसभा उम्मेदवार सिफारिस

सन्तोष गौतम / विकल्प न्युज

म्याग्दी १९ असोज ।Congressआगामी मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि नेपाली काँग्रेस म्याग्दीले उम्मेदवार सिफारिस गरेको छ । मंगलबार र बुधबार बेनी स्थित पार्टी कार्यालयमा बसेको जिल्ला कार्यसमितिको बैठकले प्रत्यक्ष र समानुपातीक तर्फका उमेद्वार छनौट गरी सिफारीस गरेको हो ।

काँग्रेस म्याग्दीले प्रतिनिधि सभामा प्रत्यक्षतर्फको उम्मेदवारमा पार्टी सभापती खम्बीर गर्बुजा र यूवा नेता अमृतमान शेरचनको नामा सिफारिस भएको छ । यसैगरी, प्रदेशसभामा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षमा सांसद रेशमबहादुर बानियाँ, नेत्रबहादुर महत र केबी भण्डारीलाई सिफारिस गरिएको छ ।

त्यसैगरि प्रदेशको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फको उम्मेदवारमा क्याप्टेन अमलाल फगामीको एक्लो नाम सिफारिस गरिएको काँग्रेस म्याग्दीका सभापती खमवीर गर्वुजाले जानकारी दिनुभयो । प्रत्येक्ष तर्फको उम्मेदवारको रुपमा सिफारिसमा परेका खिमबहादुर पुर्जाले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेपछि फगामी पार्टीबाट सर्वसम्मत उम्मेदवार चयन हुनुभएको हो ।

काँग्रेस म्याग्दीले प्रतिनिधि सभाको समानुपातिकतर्फ सचिव मिन बहादुर कार्की, बिमला गौचन, त्रिलोकचन्द्र विश्वासको नाम सिफारिस भएको छ भने प्रदेशतर्फ क्षेत्र नम्बर १ बाट समानुपातिक उम्मेदवारमा मुकुन छन्त्याल, मन कुमारी विश्वकर्मा र रविन्द्र गर्बुजाको नाम सिफारिस गरिएको छ ।

त्यस्तै प्रदेशको २ नम्बर निर्वाचन क्षेत्रको लागि समानुपातिक तर्फको उम्मेदवारमा तम बहादुर थापा, डिल बहादुर केसी, दिर्घ बहादुर सुनार, कमरा कामी पटेल, उदिम बहादुर पुनको नाम केन्द्रीय समितिमा पठाइएको छ । यस अघि नेकपा माओवादी केन्द्रले संघ र प्रदेशको लागि पत्यक्ष र समानुपातीक तर्फका सम्भावित उम्मेदवारहरुको नामावली सिफारिस गरिसकेको छ भने उम्मेदवारहरुको टुंगो लगाउन नेकपा एमालेको जिल्ला कमिटीको बैठक बिहीबारदेखि बेनीमा सुरु भएको छ ।

एक नगरपालीका, ५ गाउँपालीका, संघतर्फ १, प्रदेशतर्फ २ निर्वाचन क्षेत्र र ४५ वडा रहेको म्याग्दीमा करिब पचहत्तर हजार मतदाता छन् । प्रदेशसभाको क्षेत्र नम्बर १ मा बेनी नगरपालीका, रघुगंगा र अन्नपूर्ण गाउँपालीका तथा क्षेत्र नम्बर २ मा मंगला, मालीका र धौलागिरी गाउँपालीका रहेको छ ।