म्याग्दीमा एघार सय जनाले गर्भपतन गराए

सन्तोष गौतम \ विकल्प न्युज
बेनी १० असोज ।
म्याग्दीमा एक वर्षको अवधिमा एक हजार १०० जना भन्दा बढीले गर्भपतन गराएका छन् ।

तेस्रो सुरक्षित गर्भपतन दिवसको अवसरमा मंगलबार बेनीमा आईपास नेपालको सहयोगमा जिल्ला स्वास्थ्य कार्यालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा आर्थिक वर्ष २०७३७४ मा एक हजार १९५ जनाले सुचिकृत स्वास्थ्य संस्था र तालीमप्राप्त स्वास्थ्यकर्मीबाट गर्भपतन सेवा लिएको जानकारी गराइएको हो ।IMG_8530कार्यालयको तथ्याङ्क अनुसार सोही अवधिमा जिल्लाभर एक हजार ४१० जना सुत्केरी भएका थिए । बेनी नगरपालीकाकी स्वास्थ्य संयोजक लिला गौतमले कार्यक्रमको सहजिकरण गर्दै आर्थिक वर्ष २०७१७२ र ०७२०७३ मा सुरक्षित गर्भपतन सेवा लिनेको संख्या एक हजार ८३ र एक हजार २२५ जना रहेको जानकारी दिनुभयो ।

म्याग्दीको बेनी अस्पताल, दरवाङ प्राथमिक स्वास्थ्य केन्द्र र १२ वटा स्वास्थ्य संस्था सुरक्षित गर्भपतन सेवाका लागि सूचिकृत रहेका छन् । विभिन्न अवस्थामा गर्भवतीको मञ्जुरीमा १२ हप्ता सम्मको गर्भ पतन गराउन पाउने व्यवस्था गरेपनी पछिल्लो समय गर्भपतनलाई परिवार नियोजनको बैकल्पीक माध्यम र लिङ्ग पहिचान गरेर भ्रुण हप्या गर्ने क्रम बढेकोप्रती सहभागीहरुले चिन्ता व्यक्त गरेका थिए ।

बेनी अस्पतालका मेडिकल अधिकृत डाक्टर बिराट शर्माले गर्भपतन गराउने अवस्था आउन नदिन सर्वसाधारणमा सचेतना र परिवार नियोजनका साधनको प्रयोगमा जाड दिनुभयो । मातृ शिशू मृत्युदर कम गर्ने उद्देश्यले वि.स २०५९ देखि कानुनी मान्यता पाएको गर्भपतन सेवालाई सरकारले २०७३ देखि निशूल्क बनाएको छ ।

मेडीकल अधिकृत डाक्टर शर्माको अध्यक्षता, जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन कार्यक्रम संयोजक नारायणप्रसाद रेग्मीको सञ्चालनमा सम्पन्न कार्यक्रममा मेडिकल अधिकृत डाक्टर अनुजा रेग्मीले नेपालमा गर्भपतनको अवस्था र आईपास नेपालका जिल्ला संयोजक उपमा बरालले संस्थाको गतिबिधिको बारेमा जानकारी गराउनुभएको थियो ।