म्याग्दीमा “प्रहरी हाम्रो टोलमा” अभियान सुरु

सन्तोष गौतम /विकल्प न्यूज
बेनी ६ असोज ।
म्याग्दीमा शुक्रबारदेखि “प्रहरी हाम्रो टोलमा” अभियान सुरु भएको छ । जिल्ला प्रशासन र प्रहरी कार्यालयले बेनीमा आयोजना गरेको कार्यक्रममा “शान्ति सुरक्षा र सूशासन, जनमैत्री प्रहरी र प्रशासन” भन्ने नारा सहित अभियान सुरु गरिएको हो । DPO Program (2)गृहमन्त्रालयले तयार पारेका गृह प्रशासन सूधार मार्गचित्र २०७४ अन्तरगत समुदाय स्तरमा प्रहरी सेवाको पहुँच विस्तार, नागरिक केन्द्रित प्रहरी सेवा, अपराध तथा विकृती न्युनीकरणका लागि नागरीक, प्रहरी र प्रशासनको सहकार्य बढाउने उद्देश्यले अभियान सञ्चालन गरिएको प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्काले बताउनुभयो ।

प्रनाउ खड्काका अनुसार अभियान अन्तरगत सामाजिक अपराध, दुब्र्यसनी, दुर्घटना र विकृती नियन्त्रणका लागि टोल स्तरमा सरोकारवालाहरुसंग सहकार्य, चेतनामुलक कार्यक्रम, प्रत्येक स्थानीय तहमा वर्षमा २ पटक घुम्ती शिवीर सञ्चालन लगायतका गतिबिधी गर्ने योजना रहेको छ ।

अभियान सञ्चालन गर्नका लागि म्याग्दीमा प्रमुख जिल्ला अधिकारी कृष्णप्र्रसाद अधिकारीको संयोजकत्वमा ५१ सदस्यीय संयोजन समिति गठन भएको छ । अभियान उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले प्रहरी प्रशासन एक्लैले शान्ति सुरक्षा अमन चयन कायम गर्न नसक्ने भएकाले सबैको साथ र सहयोग आवश्यक पर्ने भन्दै अभियानलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सुझाव दिनुभयो ।

प्रजिअ अधिकारीको अध्यक्षता र सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठले अभियानले नागरीक, प्रहरी, प्रशासनको सम्बन्ध सुधारसंगै शान्ति सुरक्षा सुदृढीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।