सन्तोष गौतम /विकल्प न्यूज
पोखरेबगर ३० भदौ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) क्षेत्रमा पर्ने सार्वजनिक जग्गामा सामुदायिक होटल सञ्चालन गर्ने कानुनी बाटो खुलेको छ । वन मन्त्रालय, राष्ट्रिय प्रकृती संरक्षण कोष र एक्यापले आयोजना क्षेत्रमा पर्ने सार्वजनिक जग्गामा सामुदायिक होटल तथा लज सञ्चालन गर्ने दिग्दर्शन तयार पारेको हो ।
गत असारमा दिग्दर्शन पारीत भएपछि एक्याप क्षेत्रमा सामुदायिक होटल सञ्चालनका लागि अनुमती दिन सकिने आयोजनाका घान्द्रुक स्थित ईलाका संरक्षण कार्यालयले शुक्रबार अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा आयोजना गरेको कार्यक्रममा जानकारी गराइएको हो ।
ईलाका संरक्षण कार्यालयका प्रमुख बिदुरबिक्रम कुईकेलले अन्नपूर्ण संरक्षण क्षेत्रका लागि मात्र लागु हुने गरि यस्तो दिग्दर्शन तयार भएको जानकारी दिनुभयो । उहाँका अनुसार व्यक्तिगत होटल तथा लज सञ्चालनका लागि भने निधेष गरिएको छ । विद्यालय, गाउँ संरक्षण व्यवस्थापन समिति लगायतले सामुदायीक होटल तथा लज सञ्चालन गर्ने प्रयोजनका लागि मात्र दिग्दर्शन तयार भएको कुईकेलले बताउनुभयो ।
यस्तो नीतिगत व्यवस्था भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिको खोप्रा, ढाँडखर्क, बलली लगायतका स्थानमा सामुदायिक विद्यालयको आयस्रोतका लागि सञ्चालित सामुदायिक लजले कानुनी बैधानीकता पाएका छन् । अन्य नयाँ पर्यटकीय स्थलहरुमा पनि होटल तथा लजको सुबिधा हुने भएको छ ।
पुरानो पदमार्ग सडकका कारण विस्थापित भई पर्यटकले नयाँ गन्तब्य खोजेको अवस्थामा बस्ती देखि टाढा रहेका पर्यटकीय स्थलहरुमा होटल तथा लज नहुँदा समस्या भएको थियो । दिग्दर्शन आएपछि खोप्रा लगायतका नयाँ पर्यटकीय गन्तब्य स्थलको विकासका साथै त्यहाँ जाने पर्यटकहरुलाई सुबिधा पुग्ने शिख संरक्षण व्यवस्थापन समितिका सदस्य भिम तिलीजाले बताउनुभयो ।
अन्नपूर्ण गाउँपालिकाका साथै एक्याप अन्तरगत पर्ने म्याग्दीको शिख, घार र नारच्याङका जनप्रतिनिधि, संरक्षण व्यवस्थापन समितिका पदाधीकारी र कर्मचारीहरु सहभागी कार्यक्रममा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएको निजी होटल तथा लजलाई भने नियमन गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन र कार्यकारी अधिकृत अच्युत दाहालले पर्यटन प्रर्वद्धन, जैविक बिबिधता र वातावरण संरक्षणका लागि स्थानीय तहसंग सहकार्य गर्न एक्यापलाई आग्रह गर्नुभएको थियो ।
गाउँ कार्यपालिका सदस्य आत्मा तुलाचन, नारच्याङका वडा अध्यक्ष चन्द्रप्रसाद फगामी, शिखका दिनेशकुमार पुन र घारका कृष्णप्रसाद बरुवालले गाउँ संरक्षण व्यवस्थापन समितिले संकलन गर्ने कर गाउँपालिकाको मातहत ल्याउन आवश्यक रहेको बताउनुभयो । गाउँ संरक्षण व्यवस्थापन समिति शिखका बेगप्रसाद पुन, घारका गोकुल बरुवाल र नारच्याङका ओमप्रकाश फगामीले स्थानीय तह र समिति सहकार्य गरेर अघि बढ्नुपर्ने बताउनुभयो । एक्यापका प्रशासन सहायक आनन्द सुवेदीले सञ्चालन र रेञ्जर पवन यादवले स्वागत गर्नुभएको कार्यक्रममा संरक्षण अधिकृत कुईकेलले एक्यापको गतिबिधिको बारेमा जानकारी गराउनुभएको थियो ।