विद्यालय परिसरमा मेला सञ्चालन नगर्न शिक्षा कार्यालयको निर्देशन

सन्तोष गौतम/विकल्प न्यूज
बेनी २८ भदौ ।
जिल्ला शिक्षा कार्यालय म्याग्दीले विद्यालय परिसरमा मेला सञ्चालन नगर्न जिल्लाका विद्यालयहरुलाई निर्देशन जारी गरेको छ ।DEO Niredsanविद्यालय बन्द गरि हप्तौ सम्म मेलाजात्रा सञ्चालन गर्दा पठनपाठन र शान्ति सुरक्षामा असर गरेको ठहर गर्दै जिल्ला सुरक्षा समितिको केही समय अघि बसेको बैठकले अनुगमन र नियमन गर्न शिक्षा कार्यालयलाई अनुरोध गरेको थियो ।

सुरक्षा समितिको निर्णय अनुसार जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले बुधबार म्याग्दीका सबै सामुदायीक विद्यालयहरुलाई पठनपाठन बन्द गरेर मेला जात्रा सञ्चालन नगर्न निर्देशन जारी गर्नुभएको हो ।

म्याग्दीका ग्रामिण क्षेत्रका सामुदायिक विद्यालय बन्द गरेर एक हप्ता देखि पन्ध्र दिनसम्म चाडपर्वको नाममा मेलाजात्रा सञ्चालन गर्ने चलन रहेको छ । उक्त मेलाका क्रममा विद्यालय परिसरमा होटल सञ्चालन, मदिरा बिक्री बितरण, सञ्चय गर्दा झैझगडा, कुटपिट हुने र विद्यार्थीहरु पढाईबाट बञ्चित भएको गुनासो बढेको छ ।

यस विषयमा विभिन्न सञ्चार माध्यमहरुबाट समाचार प्रकाशन प्रशारण भएपछि सुरक्षा समिति र शिक्षा कार्यालयले नियन्त्रणका लागि चासो देखाएका छन् । विद्यालयलाई गरिएको निर्देशन कार्यान्वयनका लागि सहयोग गर्न स्थानीय तहलाई समेत अनुरोध गरिएको छ ।