दानाको घट्टेखोलामा पौने छ करोडको लागतमा मोटरेबल पुल निर्माण सुरु

विकल्प न्यूज/बेनी
भदौं २७ गते ।
हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानाको घट्टे खोलामा मोटरेबल पुल निर्माण कार्य सुरु भएको छ । beni jomsom sadakदानाको घट्टेखोलामा यात्रुवाहक वस तर्दै । तस्विर ईन्द्रसिङ शेरचन

बेनी–जोमसोम–कोरला सडक आयोजनाले पौने छ करोड रुपैयाँको लागतमा ४० मिटर लामो पुल निर्माण सुरु गरेको हो । पाँच करोड ७६ लाख ८० हजार ५५६ रुपैयाँको लागतमा ठेक्का सम्झौता भएको पुल २०७५ असार भित्र सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ ।

वि.स २०७३ असार २९ गते ठेक्का सम्झौता गरेको निर्माण कम्पनी फेवा नयाबाटो जेभीले बेनीतर्फको पिल्लरको पहिलो चरणको ढलान गरेको छ । जोमसोम तर्फ रहेको पिल्लर ढलानको तयारी गरेको जनाएको छ । प्रिस्टीड प्रबिधिको यो पुल ११ मिटर चौडा हुने जनाइएको छ ।

हाल घट्टे खोलामा बाढी आउँदा र बर्खाको समयमा सवारी आवत जावत बन्द हुने गरेको छ । पुल निर्माण भएपछि बेनी–जोमसोम सडकमा यात्रा गर्ने स्थानीय बासिन्दा, तिर्थयात्री र पर्यटकहरुलाई सुबिधा पुग्ने आयोजनाका सुपरभाईजर ईन्द्रसिङ शेरचनले बताउनुभयो ।