नांगीमा ग्रामिण स्वास्थ्य सेवा प्रभावकारी

सन्तोष गौतम / विकल्प न्यूज
भदौ २६ गते ।

Nagi Ma Village Healthम्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ नांगी गाउँमा ग्रामिण स्वास्थ्य सेवा सञ्चालन भएको छ । काठमाडौको जनस्वास्थ्य जनसरोकार ट्रस्ट (फेस्ट)को सहयोगमा स्थापीत सेवाबाट मेडकल अधिकृत तहका जनशक्तिले २४ सै घण्टा सेवा दिन थालेका हुन् । गाउँमै डाक्टरहरु उपस्थित भएर अस्पताल सरहको सेवा दिन थालेपछि स्थानीय बासिन्दालाई राहत मिलेको नांगी स्थित हिमाञ्चल माविका शिक्षक कृष्ण पुर्जाले जानकारी दिनुभयो ।

“सामान्य बिरामी हुँदा समेत बेनी, पोखरा, चितवन, राजधानी काठमाडौ पुग्नुपर्ने बाध्यता हटेको छ” पुर्जाले भन्नुभयो । अन्नपूर्ण गाउँपालिकाको नांगी, राम्चे, काफलडाँडा, हिस्तान, जलजला गाउँपालिकाको लेकफाट, शालीजा, बनमडे, डाँडाकटेरीका बासिन्दा लाभान्वित भएका छन् ।

स्वास्थ्य मन्त्रालय र जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा दुर्गम ग्रामिण क्षेत्रका बासिन्दालाई गाउँमै गुणस्तरीय आधारभुत स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सेवा सञ्चालन गरिएको हो । दैनिक तिन जनाको अनुपातमा सर्बसाधारणहरु सेवा लिन आउने गरेका छन् । संस्थाले मेडिकल अधिकृत डा. सुजित श्रेष्ठ र डा. संगम दाहाललाई नांगीमा खटाएको छ ।

२४सै घण्टा आकस्मिक, बिहान १० देखि ४ बजेसम्म बहिरंग, भिडियो एक्सरेएक्सरे, इ.सि.जि, प्रयोगशाला (ल्याब), सामान्य शल्यक्रिया सेवा प्रवाह गरिएको डा.श्रेष्ठले बताउनुभयो । “दुर्गम, ग्रामिण क्षेत्रका बासिन्दालाई गुणस्तरीय सेवा उपलब्ध गराउन यहाँ आएका हौ” डाक्टर श्रेष्ठले भन्नुभयो ।

आकस्मीकका लागि एक सय र सामान्य बिरामीका लागि साठी रुपैयाँ सेवा शूल्क निर्धारण गरिएको छ । गरिब बिरामीलाई सेवा शूल्कमा छुटको सुबिधा रहेको छ । छिट्टै एमडिजिपी डाक्टर उपस्थित भएर सेवा दिने जनाइएको छ । समय समयमा बरिष्ठ डाक्टर (सर्जन)को उपस्थितीमा शल्यक्रिया शिवीर सञ्चालन गर्ने संस्थाले जनाएको छ ।

यसअघि हिस्तान र पाउद्धारमा शिवीर सञ्चालन गरेर स्थलगत रुपमा स्वास्थ्य सेवा प्रदान गरिएको थियो । भदौ दोस्रो हप्तादेखि नियमित रुपमा सेवा सुरु गरेको यस संस्थाले रिफर गर्ने बिरामीलाई काठमाडौको मोडल र किर्तीपुर अस्पतालमा निशूल्क उपचार गर्ने व्यवस्था मिलाइएको छ ।

त्यहाँ कार्यरत दुई जना मेडिकल अधिकृत, दुई जना अनमी र २ जना अहेवलाई जनस्वास्थ्य सरोकार ट्रस्टले तलबको व्यवस्था गरेको छ । आवश्यक उपकरणहरु समेत ट्रस्टको सहयोगमा जुटाइएको छ । हिमाञ्चल माविको परिसरमा रहेको टेलिमेडीसिन सेवा प्रवाह हुदै आएको सामुदायीक भवनमा पूर्वाधार निर्माण गरेर सेवा सञ्चालन गरिएको हो ।

तिस लाख रुपैयाँको लागतमा पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ । मोडल र किर्तीपुर अस्पतालमा कार्यरत चिकित्सकहरुले स्थापना गरेको संस्थाले गिभ टु एशिया भन्ने संस्थाको सहयोगमा सेवा सञ्चालन गरेको हो । भौगोलिक रुपमा बिकट क्षेत्रमा रहेको नांगीमा यसअघि ईन्टरनेटको सहायताले वेभ क्याम मार्फत काठमाडौका चिकित्सकसंग सम्र्पक गरी उपचार सेवा दिने गरिएको थियो ।