मुस्ताङमा १२ किलोमिटर सडक कालोपत्रे

विकल्प न्यूज/मुस्ताङ
भदौ २० गते । हिमालपारीको जिल्ला मुस्ताङमा १२ किलोमिटर सडक कालोपत्रे गरिएको छ ।
मुस्ताङको कागबेनीदेखि मुक्तिनाथसम्मको १२ किलोमिटर सडकको कालोपत्रे गरिएको हो । सडक कालोपत्रे गरिए पछि मुस्ताङ भ्रमणमा जाने पर्यटकहरुलाई सहज हुने अपेक्षा गरिएको छ । mustang sadakधार्मिक र पर्यटकीय गन्तव्य मानिने हिमालपारिको जिल्लाको एकमात्र कालोपत्रे सडक सुचारु भएसँगै धार्मिक तथा पर्यटकिय गतिविधि बढ्ने विश्वास गरिएको छ । सडक सुचारु भएसँगै त्यहाँ पुग्ने आन्तरिक तथा वाह्य पर्यटकलाई सहज हुने भएको हो ।
जोमसोमदेखि मुक्तिनाथको रानीपौवासम्म कालोपत्रे सकिएकाले बुधवार देखि सडकमा सवारी चलाउन सकिने मुस्ताङका जिल्ला इञ्जिनियर रवीन्द्र तिवारीले जानकारी दिनुभयो । कालोपत्रे गर्ने अवधिभर कागबेनी–मुक्तिनाथ सडक खण्डमा सवारी आवगमनमा रोक लगाइएको थियो । सडकको सबै काम सकिएकाले खुला गरिएको तिवारीले बताउनुभयो ।

कालोपत्रेका लागि एपेक्स जेभी र एपेक्स अमित जेभी कन्सट्रक्सनले जिम्मा लिएको थियो । १२ किलोमिटर सडक मध्ये करिब १ किलोमिटर सडकमा कालोपत्रे गर्न बाकि रहेको र निर्धारित २४ महिनाको अवधिमा सम्पूर्ण काम सक्ने गरि निर्माण भईरहेको कम्पनीले बताएको छ ।
बाँकी रहेको काम पनि यहि महिना भित्र सक्ने गरि तयारी भईरहेको जिल्ला इन्जिनियर तिवारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कालोपत्रे सडकको चौडाइ ५ मिटर रहेको छ । सडक निर्माणका लागि ग्रामीण पुनर्निर्माण तथा पुनःस्थापना आयोजना डोलिडारको आयोजनामा उक्त सडकको काम २ वर्षअघि सुरु भएको थियो । डोलिडारले उक्त १२ किमि सडक कालोपत्रेका लागि दुईखण्ड गरी करिब २० करोड रुपैयाँ लगानी गरेको हो ।

बाँकी रहेको जोमसोम कागबेनी ९ किलोमिटर सडक खण्डको काम भने सडक विभागले गरिरहेको छ । विभागले आगामी हिउँदसम्ममा सम्पन्न गर्ने बताएको छ । setosurya