कोरियाको मोह त्यागेर डेढकरोड लगानीमा रिसोर्ट

विकल्प न्यूज/बेनी
भदौं २० गते । kaligandkaki resort 1रोजगारीका लागि चार वर्ष कोरियामा विताएका यहाँका एक युवाले डेढकरोडको लगानीमा रिसोर्ट सञ्चालन गर्ने तयारी गर्नुभएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका ३ घुमाउने तालमा जिल्लामै पहिलो स्विमिङ पुल सहितको रिसोर्ट सञ्चालन गर्ने तयारी गरिएको छ । वडा नं– ३ पिप्ले घर भएका ३९ वर्षका हरिबहादुर चन्दले बेनी–जोमसोम सडकखण्ड अन्तर्गतपर्ने घुमाउने तालमा कालीगण्डकी रिसोर्ट सञ्चालनमा ल्याउन लाग्नुभएको छ । kaligandaki 3 कोरियामा आर्जन गरेको पैसा, सिकेको सीप र प्रविधिको उपयोग गरेर रिसोर्ट सञ्चालन गर्न लागेको उहाँले बताउनुभयो । चार वर्ष कोरियामा हासिल गरेको सीपलाई सदुपयोग गर्ने योजनाका साथ रिसोर्ट सञ्चालन गर्न लागेको उहाँको भनाई छ । ३० रोपनी क्षेत्रफलको जग्गा भाडामा लिएर माछापालन सहितको रिसोर्ट सञ्चालन गर्न लागेको उहाँले बताउनुभयो । यतिखेर रिसोर्टको भौतिक पूर्वाधार निर्माण भइरहेको छ । स्वदेशी तथा विदेशी पर्यटकहरुलाई लक्षित गरेर स्विमिङ पुलसहितको रिसोर्ट सञ्चालन गर्न लागेको चन्दले बताउनुभयो । म्याग्दी र मुस्ताङ भ्रमणका लागि आउने पर्यटकहरुलाई रिसोर्टमा उच्चस्तरीय सुविधा दिने उहाँले बताउनुभयो ।

सुविधा सम्पन्न पाहुना बस्ने कोठा, गार्डेन, पार्किङ, स्विमिङ पुललगायत पूर्वाधार निर्माणको कार्य भइरहेकोे सञ्चालक चन्दले बताउनुभयो । अहिलेसम्म रिसोर्ट निर्माणका लागि ७५ लाख रुपियाँ भन्दा बढी लगानी भइसकेको छ भने पूर्वाधार निर्माणले पूर्णता पाउँदासम्म एककरोड पचास लाख रुपियाँ भन्दा वढी लगानी हुने चन्दले बताउनुभयो । दुइहप्ता भित्र रिसोर्ट पूर्ण रुपमा सञ्चालनमा आउने उहाँको भनाई छ ।kaligandaki resort‘अर्गानिक र हाईजनिक’ परिकारको केन्द्र बनाउने मुख्य लक्ष्यसहित रिसोर्ट सञ्चालन गर्न लागेका चन्दले ग्राहकलाई हाँस, माछा, कुखुरा, खसी, लगायतसँगै स्थानीय उत्पादनको स्वाद चखाउने बताउनुभयो । स्थानीय उत्पादनलाई पहिलो प्राथमिकता दिइने उहाँले बताउनुभयो ।

बेनी–जोमसोम आवतजावत गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी सञ्चालन गर्न लागिएको यस रिसोर्टमा जिल्लामै पहिलो पटक स्विमिङ पुलको आनन्दसमेत लिनसक्ने व्यवस्था गरिनेछ । पाहुनलाई स्थानीय उत्पादनको स्वाद चखाउने लक्ष्यका साथ कुखुरा, हाँस र माछापालन व्यवसायलाईसमेत सँगसँगै अगाडि बढाएको चन्दले बताउनुभयो ।

माछापालनका लागि तीनवटा पोखरी निर्माण गरिएका छन् । अहिले १२ हजार भुराबाट माछापालन व्यवसाय शुरु गरेका छौं, उहाँले भन्नुभयो – कमनकार्प, ग्रासकार्प र सिल्भर कार्प जातका माछापालन शुरु गरेका छौं । यसका लागि थप ४० हजार माछाको भुरा मगाएको पनि उहाँले जानकारी दिनुभयो । पाहुनाहरुले पोखरीमा आफै माछा मार्न सक्ने व्यवस्था हुनेछ । पाहुनाले रोजेको माछाको परिकार तयार गरिने उहाँले बताउनुभयो ।

यसका साथै चन्दले अहिले दुईसय कुखुरा पाल्नुभएको छ भने ३०० हाँस पाल्ने योजनासहित आकर्षक खोरसमेत निर्माण गर्नुभएको छ ।
उहाँले कोरियामा हाँसको आकर्षक परिकार बनाउन सिकेको सीपलाई आफ्नो रिसोर्टमा पनि उपयोग गर्ने योजना रहेको बताउनुभयो ।
‘‘४० देखि ५० जनासम्म न्यूनतम रुपमा बास बस्नसक्ने गरी रिसोर्टको क्षमता विस्तार गर्दैछु, मिटिङ हल र पार्टी प्यालेससहितका सुविधा यहीबाटै प्रदान गर्ने गरी पूर्वाधार निर्माण भइरहेको छ’’ चन्दले भन्नुभयो । रिसोर्टमा १० जनाले रोजगारी पाउने उहाँले बताउनुभयो । पछिल्लो समय मुस्ताङ भ्रमणमा आउने आन्तरिक एवम् वाह्ै पर्यटकमा निकै वृद्धि भएकाले बेनी – जोमसोम सडक खण्डमा सुविधायुक्त होटलको आवश्यकता महशुस गरिएकाले व्यवसायले सफलता प्राप्त गर्ने चन्दको विश्वास छ ।