मुस्ताङको बोक्सीखोलामा ५६ लाखमा गाई फार्म सञ्चालन

सन्तोष गौतम /मुस्ताङ
भदौं १९ गते ।
मुस्ताङको थासाङ गाउँपालिका २ बोक्सीखोलामा सहकारी संस्थाले गाई फार्म सञ्चालन गरेको छ ।

Kagbeni-Mustangधौलागिरी गुरुसाम्फु कृषि सहकारी संस्थाले दूध, चीज, घ्यू र छुर्पी उत्पादनका लागि गाई फार्म सञ्चालन गरेको हो । मुस्ताङमा आवश्यक दूग्धजन्य पदार्थको आपुर्ती गरी आयात घटाउने, रोजगारी सिर्जना र आयआर्जन वृद्धिका लागि गाई फार्मसंगै चीज उद्योग सञ्चालन गरिएको सहकारीका अध्यक्ष नरबहादुर हिराचनले बताउनुभयो ।

अध्यक्ष हिराचनका अनुसार हिमाली आयोजनाको सहयोगमा ५६ लाख २३ हजार रुपैयाँको लागतमा फार्म स्थापना भएको हो । आयोजनाको ४२ लाख ९६ हजार ९१२ रुपैयाँ अनुदान र सहकारीको १३ लाख २६ हजार ९१२ रुपैयाँ लगानीमा स्थापना भएको फार्मका हाल २० वटा होलीस्टेन, जर्सी र जर्सी क्रस जातका गाई छन् ।

दैनिक ७० देखि ११५ लिटर दूध उत्पादन हुने गरेको छ । २५ जना सदस्यहरु रहेको सहकारीले मुस्ताङमै पहिलो पटक चीज उद्योग सञ्चालन गरेको हो । दैनिक ७ किलोका दरले उत्पादन हुने चिज प्रतिकेजी एक हजार रुपैयामा जोमसोम, मार्फ, कागबेनी, टुकुचे, कोवाङ, लेतेका होटलहरुमा खपत हुन्छ ।

चीज उत्पादन गरेर बचेको दूध बिक्री हुने गरेको छ । दैनिक ६० लिटर भन्दा बढी दूध बिक्री हुने गरेको छ । फार्ममा ५ जनाले रोजगारी पाएका छन् । वार्षिक १८ लाख रुपैयाँ बराबरको आम्दानी हुने गरेको अध्यक्ष हिराचनले बताउनुभयो । संस्थाले चौरी गाईको दूधबाट चीज उत्पादन गर्ने योजना बनाएको छ ।

लेकका खर्कमा पालीने चौरीगाईको दूध ढुवानीका लागि तिन वटा खच्चर खरिद गरीसकेको छ ।