बिद्युत आपूर्ती बन्द हुँदा उत्तरी म्याग्दी अन्धकार

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १९ भदौ ।
म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा पाँच दिनदेखि केन्द्रिय प्रशारण लाईनको विद्युत आपूर्ती बन्द भएको छ ।

प्रशारण लाईनमा खराबी आएपछि रघुगंगा, अन्नपूर्ण गाउँपालीका र मुस्ताङमा गत बिहीबारदेखि विद्युत आपूर्ती हुन नसकेको हो । विद्युत सुबिधाको अभावमा बेग, दोवा, राम्चे, हिस्तान, भुरुङ तातोपानी, शिख, घार, दाना, नारच्याङका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् ।
पर्यटकीय स्थल घोडेपानी, भुरुङ तातोपानी, दानाका होटल व्यवसायीहरु समेत विद्युत अभावमा प्रभावित बनेको होटल ब्यवसायी ईन्द्रसिङ शेरचनले बताउनुभयो । नेपाल विद्युत प्राधिकरणले मर्मतमा ढिलाई गर्दा उपभोक्ता मर्कामा परेको उहाँले गुनासो गर्नुभयो ।

नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्रले खराबी भएको ठाउँ पत्ता लगाउन नसकिदाँ मर्मतमा ढिलाई भएको बताएको छ । तिल्केनीचौर देखि मिलनचोक सब स्टेशनसम्मको प्रशारण लाईन परिक्षण गरेपछि खराबी पत्ता लाग्ने र मर्मत गरी विद्युत आपूर्ती गराउन पहल भैरहेको केन्द्रले जनाएको छ ।