बेनीमा कर संकलनका लागि घुम्ती शिवीर

सन्तोष गौतम/विकल्प न्यूज
बेनी १६ भदौ ।
म्याग्दीका साना तथा मझौला व्यवसायीहरुबाट कर संकलनका लागि शुक्रबारदेखि बेनीमा घुम्ती शिवीर सञ्चालन भएको छ । आन्तरीक राजस्व कार्यालय पोखराको आयोजना र म्याग्दी उद्योग वाणिज्य संघको समन्वयमा सुरु भएको शिवीर दुई दिनसम्म सञ्चालन हुने जनाइएको छ । IMG_2936घुम्ती शिवीर मार्फत वार्षिक बिस लाख रुपैया सम्मको कारोबार र दुई लाख रुपैया सम्म नाफा गरेका व्यवसायीहरुबाट कर संकलन गरिने आन्तरीक राजस्व कार्यालय पोखराका कर अधिकृत सुनीलराज देवकोटाले बताउनुभयो ।

कर अधिकृत वुद्धीराम बस्यालको नेतृत्वमा देवकोटा सहित ६ जना कर्मचारीको टोली शिवीर सञ्चालनका लागि बेनीमा आएको छ । यसैगरी भाडामा बसेर व्यवसाय गर्ने व्यवसायीहरुबाट भाडाको दश प्रतिशत बाहल संकलन गरिने टोलीले जनाएको छ ।

बिस लाख रुपैया सम्म कारोबार गर्ने गाउँपालीकाका ब्यवसायीले वार्षिक एक हजार पाँच सय र नगरपालीकाले दुई हजार पाँच सय रुपैयाका दरले कर तिर्नुपर्नेछ । यसका साथै व्यवसायीहरुबाट कारोबारको विवरण समेत संकलन गरिने भएको छ ।

साना तथा मझौला व्यवसायीहरुलाई आफ्नै जिल्लामा कर तिर्ने सुबिधाका लागि उद्योग वाणिज्य संघको पहलमा केही वर्षयता घुम्ती कर शिवीर सञ्चालन हुदै आएको छ । कर तिर्नका लागि बेनीका साथै ग्रामिण क्षेत्रबाट आएका ब्यापारीहरुको दिनभर भिड लागेको थियो ।
जिल्लामै कर तिर्ने व्यवस्था मिलाएपछि पोखरा जाँदा र आउँदा लाग्ने खर्च तथा समयको बचत भएको संघका महासचिव राजेश शाक्यले बताउनुभयो । प्रा.लीमा दर्ता भएका फर्म तथा उद्योग, भ्याटमा दर्ता भएका व्यवसायी, गैरसरकारी संस्था र निर्माण व्यवसायीहरु भने पोखरानै गएर कर बुझाउने गरेका छन् ।