गलेश्वरमा बाली उपचार शिविर

विकल्प न्यूज/बेनी
भदौ १४ गते ।
बेनी नगरपालिका ९ गलेश्वर स्थित कृषि सेवा केन्द्रमा बुधबार बाली उपचार शिवीर सम्पन्न भएको छ ।

क्षेत्रीय बाली संरक्षण प्रयोगशाला पोखरा र जिल्ला कृषि विकास कार्यालयको आयोजनामा शिवीर सम्पन्न भएको हो । शिवीरमा गलेश्वर, घतान, काउलेगौडा, पिप्ले, भगवतीका १४ जना कृषकहरुले धान, सुन्तला, गोलभेडा, तरकारी बालीमा लागेको रोगकिराको उपचार, परामर्श सेवा पाएका छन् ।
बरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजाल, बागबानी विकास अधिकृत भोजबहादुर थापा र प्रयोगशालाका प्राबिधिक घनश्याम गैरेको टोलीले सेवा दिनुभएको थियो । रोगको नमुना देखाउन ल्याएका कृषकहरुलाई परामर्शका साथै नमुना बिषादी निशूल्क उपलब्ध गराइएको थियो ।

शिवीरमा धानमा फेद कुहिने, पातमरुवा र गोलभेडामा टुटा, डडुवा र सेक्टेरीया रोगको समस्या देखिएको पहिचान भएको थियो । घतानका कृषकले गरेको गोलभेडा खेतीमा जिल्लामै पहिलो पटक टुटा रोग देखिएको बागबानी विकास अधिकृत थापाले बताउनुभयो ।