विदेश जाने योजना त्यागेर भैंसीपालन

विकल्प न्यूज/बेनी
भदौं १४ गते ।

बिदेश जाने योजना त्यागेर कृषि फार्म खोलेका म्याग्दीका एक कृषक गाउँमै स्वरोजगार बनेका छन् । मंगला गाउँपालिका २ ताराखेतका थमप्रसाद पौडेलले भैसीपालन र तरकारी खेतीबाट स्वरोजगार बन्नुभएको हो । रोजगारीका लागि अफगानिस्तान जान दलाललाई बुझाएको पैसा फसेपछि बिदेश जाने योजना त्यागेर चार वर्षअघि गाउँमै तरकारी खेती र भैसीपालन सुरु गर्नुभएको थियो ।

Kurila kharka ko Pasupalan farmaफाइल तस्विर

ऋण खोजेर दलाललाई बुझाएको तिन लाख रुपैयाँ पनि उहाँले दूध, दहि र तरकारी बेचेर तिर्नुभयो । ४१ वर्षिया पौडेलले सञ्चालन गरेको पौडेल भैसी फार्ममा अहिले अन्य दुई जनाले रोजगारी समेत पाएका छन् । चार वटा उन्नत जातको भैसी पालेका पौडेलले चार रोपनी खेतमा मौसमी तथा बेमौसमी तरकारी खेती गर्नुभएको छ ।

दैनिक दश लिटर दूध र दश लिटर दहि बिक्री हुने गरेको छ । बाबियाचौर बजारमा लगेर दूध बिक्री गर्दै आएका पौडेलले दहि भने घरबाटै बिक्री गर्नुहुन्छ । बेनी दरवाङ सडकको छेउमा रहेको उहाँको पसल दहि पाइने ठाउँका रुपमा प्रसिद्ध छ ।

बन्दा, काउली, घिरौला, भन्टा, खुर्सानी, करेला, लौका, सिमी, गोलभेडा, साग लगायत मौसमी र बेमौसमी तरकारी बाबियाचौर र दरवाङ बजारमा बिक्री हुन्छ । तिन वटा पलास्टीक टनेलभित्र तरकारी खेती गर्नुभएको छ । तरकारी र दूध, दही बेचेर मासीक पचास हजार रुपैयाँ आम्दानी हुने पौडेलले बताउनुभयो ।

उहाँले तरकारीखेती र भैसीपालनबाट भएको आम्दानीले ४ जना छोराछोरीलाई पढाउनु भएको छ । घरब्यवहार चलाउन सजिलो भएको छ । बिदेश जानलाई गर्ने लगानी र त्यहाँ गर्ने परिश्रम आफ्नै गाउँठाउँमा गरेमा मासिक तिसचालीस हजारका लागि बिदेशीनु नपर्ने पौडेलको अनुभव छ ।

तरकारीले बजारमा उचित मूल्य नपाउने समस्या रहेको बताउँदै उहाँले ठूलो परिणाममा उत्पादन गर्न सके नोक्सान नहुने बताउनुभयो । तरकारी खेती गर्ने खेत म्याग्दी नदीले कटान गर्न थालेपछि पौडेललाई चिन्ता थपिएको छ । उहाँले भैसीको संख्या थपेर दूध उत्पादन बढाउने योजना बनाउनुभएको छ ।

पौडेललाई जिल्ला कृषि विकास कार्यालयले एकिकृत जलस्रोत व्यवस्थापन आयोजना अन्तरगत साठी हजार र जिल्ला पशु सेवा कार्यालयले गोठ सुधारका लागि दश हजार रुपैयाँ अनुदान सहयोग गरेका थिए ।