लस्ती–सारेमारे झोलुङ्गे पुल निर्माण योजना ढिलासुस्तीको नमुना

विकल्प न्यूज/बेनी
भदौ १३ गते ।
दुई वर्ष अघिनै सकिनुपर्ने म्याग्दीको सारेमारे र पर्वतको लस्ती जोड्ने झोलुङ्गे पुल निर्माण योजना ढिलासुस्तीको नमुना बनेको छ ।

निर्माण व्यवसायीको लापरबाहीका कारण २०७२ असोजमा सकिनुपर्ने १८७.५ मिटर लामो झोलुङ्गे पुल निर्माण कार्य अलपत्र परेको छ । बेनी नगरपालिका १ सारेमारे र पर्वतको जलजला गाउँपालिका ७ लस्तीको सिमानामा पर्ने कालीगण्डकी नदी माथि वि.स २०७१ असार २६ गते सो पुल निर्माण सुरु भएको थियो । Bridgeपन्ध्र महिनामा बन्नुपर्ने पुल चार वर्षमा पनि पुरा नहुनु सरकारी निकायद्धारा सञ्चालन हुने विकास आयोजनामा हुने ढिलासुस्तीको नमुना भएको स्थानीय बासिन्दा तिलक थापाले बताउनुभयो ।

संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तरगतको स्थानीय पूर्वाधार विकास तथा कृषि सडक बिभागले सस्पेन्सन प्रबिधिको सो पुल निर्माणका लागि अधिकारी निर्माण सेवासंग सम्झौता भएको थियो ।

६७ लाख ७७ हजार ७७७ रुपैयाँमा २०७२ असोज २५ गते सम्पन्न गर्ने सम्झौता गरेको थियो । निर्माण व्यवसायी कम्पनीले अन्तिम अवस्थामा काम नगरी अलपत्र छाडेर गएपछि स्थानीय बासिन्दा आक्रोशित भएका छन् ।

स्टील डेग राखेपनि दायाँ, बायाँ जाली राख्ने लगायतका केही काम नगरी निर्माण कम्पनीका प्रतिनिधि गएको स्थानीय बासिन्दा थापाले बताउनुभयो । पुललाई अडाउने सहायक लठ्ठाहरु तन्काउने काम बाँकी छ । अधुरो अवस्थामा रहेको सो पुलमा स्थानीय बासिन्दा जोखिम मोलेर वारपार गर्न थालेका छन् ।

म्याग्दीको रत्नेचौर, पर्वतको धाईरीङ र नाग्लीवाङका बासिन्दाको आवत जावतलाई सहज बनाउन पुल निर्माण हुन लागेको हो । पुल निर्माण भएमा एक घण्टाको बाटो पाँच मिनेटमा छोटिने जनाइएको छ । सो पुलको भारवहन क्षमत्ता ६८ मेटिक्टन छ । एक पटकमा ४८६ जना मानिसहरु आवत जावत गर्न सकनेछन् ।

स्थानीय पूर्वाधार विकास तथा कृषि सडक बिभागका इन्जिनियर सागर नेपालले पटक–पटक ताकेता गर्दा समेत काम गर्न नसकेपछि निर्माण कम्पनीलाई गत चैतदेखि कारबाही स्वरुप जरिवाना तिराएको बताउनुभयो । कुल सम्झौता रकमको दैनिक ०.०५ प्रतिशतका दरले जरिवाना गर्ने व्यवस्था रहेको छ ।