दिवंगत आफन्तको स्मृतीमा विद्यालयमा एकलाखको अक्षयकोष

सन्तोष गौतम /विकल्प न्यूज
बेनी १० भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका २ भगवतीको पखटोलका एक परिवारले दिवंगत आफन्तको स्मृतीमा सामुदायीक विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।

स्वर्गीय डिलकुमारी खत्रीको स्मृतीमा उहाँका छोरा, बुहारी, छोरी, ज्वाई, नाती र नातीनीहरुले सिद्धार्थ ज्ञानमन्दिर आधारभुत विद्यालयमा एक लाख ११ हजार १११ रुपैयाको अक्षयकोष स्थापना गर्नुभएको हो ।

वडा अध्यक्ष रिमबहादुर कटुवाल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रबीबहादुर खत्रीको उपस्थितीमा भएको कार्यक्रममा खत्री परिवारले अक्षयकोष स्थापना गर्नुभएको प्रअ तोरणबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार सो अक्षयकोषको ब्याजबाट प्रत्येक वर्ष तिजको दरखाने दिन ३ देखि ५ जना गरिब, जेहेन्दार र दलित विद्यार्थीलाई छात्रवृत्ती प्रदान गरिने भएको छ । छोरा नारायणबहादुर, टिकाबहादुर, ठक्करबहादुर, झलकबहादुर, बुहारी लक्ष्मीकुमारी, टिकाकुमारी, गिताकुमारी र मिनाकुमारी, छोरी भुम्ली, देवी, कमला, ज्वाई यामबहादुर, प्रेमबहादुर र यामबहादुर केसीले अक्षयकोष स्थापना गर्नुभएको हो ।

अक्षयकोषमा खत्रीका नाती नातीनाहरु संगिता, सारदा, सन्तोष, राम्जी, राधेश, मिलन, अनीस, सागर, युनिसा, युनिकले पनि सहयोग गर्नुभएको विद्यालयले जनाएको छ । खत्री परिवारले स्थापना गरेको अक्षयकोषले विद्यार्थीहरुलाई प्रोत्साहन र शैक्षिक गुणस्तर वृद्धीमा सघाउ पुग्ने वडा अध्यक्ष कटुवालले बताउनुभयो ।