झिँ र पाखापानीले किन गरे मौवाफाँट केन्द्रको विरोध ?

सन्तोष गौतम/विकल्प न्यूज
बेनी ८ भदौ ।
झिँ र पाखापानीका जनप्रतिनिधिहरु रघुगंगा गाउँपालीकाको केन्द्र मौवाफाटमा कायम गर्ने निर्णयको बिरोधमा उत्रिएका छन् ।Pakhapaniरघुगंगा गाउँपालीकाको ५ नम्बर वडा झिँ र ६ नम्बर वडा पाखापानीका वडा अध्यक्ष सहितका जनप्रतिनिधिहरुले जवरजस्ती मौवाफाँटमा केन्द्र कायम गर्ने निर्णय गरेको भन्दै बिरोधमा उत्रिएका हुन् । पाखापानीका वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले एक विज्ञप्ती जारी गर्दै चिमखोलाले धोका दिएकाले पाखापानीमा केन्द्र कायम गर्न नसकेको खुलासा गर्नुभएको छ ।

उहाँले दर्मीजामा केन्द्र बनाउने सहमती गरेका चिमखोलाका जनप्रतिनिधीहरु मौवाफाँटको पक्षमा भएपछि आफूहरु अल्पमतमा परेको आरोप लगाउनुभएको छ । यसैगरी झिँका जनप्रतिनिधिहरुले पाखापानी स्थित गाउँपालीकाको कार्यालयमा जान हिडेका निमित्त कार्यकारी अधिकृत दयाराम पौडेललाई बिहीबार झिँबाटै सदरमुकाम बेनी फर्काएका छन् ।

मौवाफाँटमा केन्द्र बनाउने निर्णयप्रती आफूहरुको असहमती र जनताको आक्रोश चर्कीएको अवस्थामा कर्मचारी पाखापानी जाँदा असहज वातावरण सिर्जना हुने देखिएकाले निमित्त कार्यकारी अधिकृतलाई फिर्ता पठाएको झिँका वडा अध्यक्ष मनबहादुर शेरपुञ्जाले बताउनुभयो ।
“केन्द्र परिवर्तन गर्ने विषयको निर्णय गर्ने प्रक्रिया र हाम्रो समस्याको सुनुवाई नगरीकन गरिएको निर्णयप्रती असहमती छ । जनता आक्रोशित भएका छन् । गाउँपालीकाका अध्यक्ष, उपाध्यक्षले हाम्रो समस्याको सम्बोधन नगरेसम्म अरु कर्मचारीलाई कार्यालय सञ्चालन गर्न नदिने निर्णय गरेका छौ” शेरपुञ्जाले भन्नुभयो ।

रघुगंगा गाउँपालीकाको सोमबार गलेश्वरमा बसेको गाउँसभाका सदस्यहरुको बहुमतका आधारमा वडा न. ३ पिप्लेको मौवाफाँटमा केन्द्र तोक्ने निर्णय गरेर राजपत्रमा प्रकाशनका लागि सरकारलाई सिफारीस गरेको छ । बेग, भगवती, पिप्ले, दग्नाम र चिमखोला मौवाफाँटको पक्षमा मतदान गरेका थिए भने कुईनेमंगलेले पाखापानीलाई मतदान गरेका थिए । झिँ र पाखापानीले निर्णय प्रती असहमती जनाउँदै बैठक बहिस्कार गरेका थिए ।