यस्तो छ दाजुभाई बाख्रा फार्मको सफलता

विकल्प न्यूज/बेनी
भदौ ८ गते ।

बेनी नगरपालिका ४ तातोपानीका दुई कृषक व्यवसायिक बाख्रापालन मार्फत स्वरोजगार बनेका छन् ।

तातोपानीको टिमीलाखर्कका बिष्णुदत्त र छवीलाल उपाध्यायले व्यवसायिक बाख्रापालन गरेर स्वरोजगार बन्नुका साथै राम्रो आम्दानी गर्न सफल हुनुभएको छ । दुई वर्षअघि ७ लाख रुपैयाँ लगानी गरेर उपाध्याय दाजुभाईले भाई भाई बाख्रा फार्म स्थापना गर्नुभएको थियो ।bharat-malla-farming-1फाइल तस्विर

 दुई वर्षको अवधिमा फार्ममा भएको लगानी उठाईसकेको सञ्चालन बिष्णुदत्त उपाध्यायले बताउनुभयो । पछिल्लो एक वर्षयता १८ वटा खसीबोका र बाख्रा बिक्री भएका छन् । फार्ममा हाल २५ वटा माउ बाख्रा र २७ वटा खसी, बोका र पाठापाठी छन् ।

उनिहरुले खरी र जमुनापारी जातका बाख्रा पालेका छन् । बाख्रा फार्मको आम्दानीमा सन्तुष्ट उपाध्याय दाजुभाईले अझै व्यवस्थित गरेर क्षमत्ता बढाउने र उन्नत जातको बाख्रा पाल्ने योजना बनाएको बताउनुभयो ।

प्राकृतीक उपचार स्थल तातोपानी बजारमा मासुका लागि खसीबोका बिक्री हुने गरेको छ । फार्मबाटै बिक्री हुने भएकाले अहिलेसम्म बजारको समस्या छैन् । तातोपानी बजारमा ब्यापार ब्यवसाय गर्दै आउनुभएका ४५ वर्षिय बिष्णुदत्तले सहकारीबाट प्रेरीत भएर बाख्रापालनमा लागेको बताउनुभयो ।

उहाँले ६ वर्षसम्म स्थानीय तातोपानी बहुउद्देश्यीय सहकारी संस्थाको पदाधीकारीमा रहेर काम गर्नुभएको थियो । ७ वर्ष भारत, २ वर्ष कतार र मलेसीयामा काम गरेर घर फर्कीएका छवीलालले पनि बिदेशको बिकल्पमा बाख्रापालनलाई रोज्नुभएको हो ।

फार्ममा उपाध्याय दाजुभाई र परिवारका सदस्यहरुले काम गर्नुहुन्छ । बाख्राको आहराका लागि घर नजिकैको २० रोपनी पाखोबारीमा भुई र डालेघाँस खेती गर्नुभएको छ । सो फार्मलाई जिल्ला पशु सेवा कार्यालयले गत वर्ष एक वटा उन्नत जातको बोका र यस वर्ष युवा स्वरोजगार कार्यक्रम अन्तरगत एक लाख रुपैयाँ अनुदान उपलब्ध गराएको थियो ।