अन्नबाली छाडेर सुन्तला खेती

विकल्प न्यूज/बेनी
भदौ ८ गते ।
बेनी नगरपालिका ३ मरेकका ईन्द्रबहादुर थापाले ब्याडमा असारमा रोप्नलाई तयार भएको विउ त्यतीकै छाडेर सुन्तलाका बिरुवा लगाउनुभयो । नौ मुरी धान फल्ने खेतमा रोप्नका लागि तयार भएको धानको विउलाई ब्याडमै छाडेर दुई सय बोट सुन्तलाका नयाँ बिरुवा लगाउनुभएको हो । “अन्नबालीले लगानी पनि नउठ्ने, उत्पादनले बजार नपाउने, खडेरी, असीनाले क्षति गर्ने तथा काम गर्ने मानिस पाउन छाडेपछी सुन्तलाका बिरुवा लगाएको थापाले बताउनुभयो ।

Bhedabari Orange Village (3)मंगला गाउँपालिका १ मजुवाका रामबहादुर खत्रीले धान, मकै र कोदो लगाउने बारीमा गत असारमा १५० सुन्तला र ५० वटा कागतीका बिरुवा रोपे । “अन्नबाली भन्दा सजिलो र आम्दानी हुने भएकाले सुन्तला लगाएको हो” खत्रीले भने । ७५ वटा बोटबाट गत वर्ष ७५ हजार रुपैयाँको सुन्तला बेचेका खत्रीले बजार सहज भएकाले यसपाली विस्तार गरेको बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिका ७ दोसल्लेका कृषकहरुले मकै र कोदो लगाउदै आएको बारीमा यस वर्ष ८ हजार नयाँ सुन्तलाका बिरुवा रोपेका छन् । सडक सुबिधासंगै सुन्तलाले बजार पाउने र आम्दानी हुने भएपछि आफूलाई खान पुग्ने बाहेकका खेतबारीमा सुन्तला लगाएको दोसल्लेका कृषक खगबिर पाईजाले बताउनुभयो ।

उहाँका अनुसार काम गर्ने जनशक्ति अभावमा बाँझीदै गएको खेतबारीलाई उपयोगमा ल्याउनका लागि सुन्तला, केरा जस्ता फलफुल खेती उपयोगी देखिएको छ । सुन्तलालाई अन्नबालीलाई जस्तो स्याहार सुसार, गोडमेल गरिरहनु नपर्ने भएकाले कृषकले सजिलो मानेका छन् ।orange 2थापा, खत्री र दोसल्लेका बासिन्दा जस्तै म्याग्दीका कृषकहरुले पछिल्लो समय अन्नबालीको विकल्पमा धमाधम सुन्तला खेती गर्न थालेका छन् । धान, मकै, कोदो, गहुँ खेती गर्दै आएको खेतबारीमा सुन्तलाका बिरुवा लगाउन थालेका हुन् । अन्नबालीको तुलनामा कम श्रम र लगानीमा छिटो नगद आम्दानी लिन सकिने भएकाले सुन्तला खेती गर्ने क्रम बढेको छ ।

बेनी नगरपालिकाको बास्कुना, मरेक, राखु, मंगला गाउँपालिकाको बरंजा, अर्मन, कुहुँ, मालीकाको देविस्थान, बिम, ओखरबोट, धौलागिरीको ताकम, मुदी, रघुगंगाको पिप्ले, भगवती, बेगखोला र अन्नपूर्ण गाउँपालिकाको हिस्तान र दानाका कृषकहरुले सुन्तला खेती विस्तार गरेका छन् । जिल्ला कृषि विकास कार्यालयले यस वर्ष म्याग्दीका कृषकलाई पचास प्रतिशत अनुदानमा २५ हजार सुन्तलाका बिरुवा अनुदानमा वितरण गरेको जनाएको छ ।Bhedabari Orange Village (6)

६० हेक्टर थप क्षेत्रफलमा सुन्तला खेती विस्तार भएको कार्यालयका प्राबिधिक सहायक श्यामराज क्षेत्रीले बताउनुभयो । म्याग्दीका २६५ जना कृषकले ६८५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरेका कृषि विकास कार्यालयको तथ्याङ्क छ ।

गत वर्ष म्याग्दीमा सात करोड ५० लाख रुपैयाँ मूल्य बराबरको दुई हजार २६५ मेट्रिक्टन सुन्तला उत्पादन भएको बागबानि विकास अधिकृत भोजबहादुर थापाले जानकारी दिनुभयो । जस मध्य दुई करोड दुई लाख ९३ हजार रुपैयाँ मूल्य बराबरको ६७६ मेट्रिक्टन सुन्तला पोखरा, काठमाडौ, नारायणगढ र जनकपुरमा निकासी भएको थियो ।