रुईसेमा भ्यु टावर निर्माण गरिने

विकल्प न्यूज/बेनी
भदौ ८ गते ।
जिल्लाको रघुगंगा गाउँपालिका २ भगवतीको रुईसे क्षेत्रलाई पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न पहल थालीएको छ ।

धौलागिरी आईसफल पदमार्गको प्रवेशद्धारको रुपमा रहेको रुईसेलाई भ्यु प्वाईन्टको रुपमा विकास गर्न रघुगंगा गाउँपालिका र वडा कार्यालयले पहल गरेका हुन् । पूर्वाधार निर्माण र प्रचारप्रसार गरी रुईसेमा पर्यटक भित्र्याउने योजना अघि बढाइएको वडा अध्यक्ष रिम कटुवालले जानकारी दिनुभयो ।  ruseरुईसेमा भ्यु टावर निर्माणका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा पन्ध्र लाख रुपैयाँ र भगवती देखि रुइसे जाने पदमार्ग बनाउन वडा कार्यालयले एक लाख रुपैयाँ छुट्टाएको छ । यससंगै होटल तथा रेष्टुरेष्ट सञ्चालनका लागि निजी क्षेत्रलाई प्रोत्साहन, सार्वजनिक शौचालय, खानेपानीको सुबिधाको व्यवस्था मिलाउन प्राथमिकता दिइएको वडा अध्यक्ष कटुवालले बताउनुभयो ।

समुन्द्री सतहदेखि २ हजार ५३० मिटर उचाईमा भगवती, पिप्ले, बेगखोला, दग्नाम र चिमखोलासको सिमाक्षेत्रलाई समेटिएको रुईसे–भेडीओढारबाट मनोरम हिमसृङ्खलाको अवलोकन गर्न सकिन्छ । पुर्वमा माछापुच्छ«ेदेखि अन्नपूर्ण, निलगिरी, धौलागिरी हुँदै पश्चिममा गुर्जा हुँदै चुरेन हिमालको मनमोहक दन्तेलहर हिमाललाई नजीकबाट नियाल्न पाउनु यस क्षेत्रको प्रमुख बिशेषता हो ।

बसन्त ऋतुमा जंगलमा राताम्मे भएर फुल्ने गुराँस फुलले थप सु–सज्जीत बनाउने गर्छ । त्यहाँ राखिने भेडाबाख्राका गोठहरुले परम्परागत जिबनशैलिको झल्को दिने गर्छ भने चरणक्षेत्रमा रहेका भेडाबाख्राको दृष्य पर्यटकहरुको लागि पनि आकर्षण बन्ने गरेको पाइन्छ ।
अग्ला पहाडमा हरियाली जंगलले शुसज्जित रुइसे क्षेत्र दन्तेलहर जस्तै देखिने आधा दर्जन बढी हिमसृङ्खलाको दृष्य अवलोकन र गुराँसे जंगलमा रमाउनको लागि आकर्षक रहेको रुईसे–भेडीओढार पर्यटन विकास समितीका अध्यक्ष समेत रहनुभएका जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले बताउनुभयो ।

पाँच बर्ष अगाडि टान पोखराको नेतृत्वमा धौलागिरी आइसफल पदमार्गको पहिचान गरेपछि रुइसे क्षेत्रको बारेमा प्रचार प्रसारसंगै पदमार्ग निर्माणको काम भैरहेको छ । म्याग्दीको गलेश्वर देखि सुरु हुने धौलागिरी आईसफल पदमार्ग पिप्ले, भगवती, दग्नाम, बेगखोला, चिमखोला, दाना, कुइनमंगलेको लेक हुँदै मुस्ताङको लेते पुगेर टुङ्गिन्छ ।

मनोरम प्राकृतिक सौन्दर्यले भरिपूर्ण भेडीओढार क्षेत्रबाट म्याग्दी, बागलुङ र पर्वतका विभिन्न स्थानहरुलाई एकैठाउँबाट अबलोकन गर्न सकिन्छ भने यसक्षेत्रबाट विहानीको सुर्योदयको दृष्य मनमोहक देखिन्छ ।

पुर्वको माछापुच्छेू नजीकबाट उदाएको सुर्यका किरण पश्चिममा रहेको धौलागिरी, चुरेन र गुर्जा हिमालमा ठोकिदा मुस्कुराउँदो हिमालको लोभलाग्दो दृष्यावलोकन गर्न पाउँदा त्यहाँ पुग्ने जो कसैको मन फुरुङ्ग हुने रुइसे–भेडीओढार पर्यटन विकास समितिका सदस्य रिम मल्लले बताउनुभयो ।