गलेश्वरमा बसपार्क निर्माण

विकल्प न्यूज/बेनी
भदौं १ गते ।
गलेश्वरमा बसपार्क निर्माण भएको छ । धार्मीक तथा पर्यटकीय स्थल गलेश्वरमा सडक पुगेको करिब पन्ध्रवर्षपछि बसपार्क बनेको हो ।

गलेश्वर बजार प्रवेशद्धार नजिकैको देवी मन्दीर परिसरको सार्वजनिक जग्गालाई सम्माएर बसपार्क बनाइएको हो । सहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङको २७ लाख ९४ हजार ८९५ रुपियाँ अनुदान सहयोगमा बसपार्क निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर बानियाँले जानकारी दिनुभयो ।galeshowr busparkउहाँका अनुसार बसपार्कमा साना ठूला गरी ६० भन्दा बढी सवारी साधन पार्कीङ गर्न सकिने क्षमता छ । बसपार्कको ८२ बर्गफिटमा आरसीसी ढलान भएको छ । आगामी वर्ष सबै ठाउँमा ढलान गर्ने योजना रहेको अध्यक्ष बानियाँले बताउनुभयो ।

बसपार्क निर्माणसंगै देवी मन्दिर संरक्षणको गरिएको छ । बसपार्क निर्माण भएपछि गलेश्वर दर्शन र पुजाआजाका लागि आउने भक्तजनहरुलाई सहज भएको छ । ट्राफिक व्यवस्थापनमा सहयोग पुगेको छ ।

यसैगरी कार्यालयको ६ लाख ५१ ह्जार ०१५ रुपियाँ अनुदानमा बेनीको क्याम्पसचोकमा सोही उपभोक्ता समिति मार्फत बाढी नियन्त्रणका लागि पूर्वाधार निर्माण गरिएको छ । दुई वटै योजनामा उपभोक्ताको नौ लाख २६ हजार ८५२ रुपियाँ बराबरको सहभागीता रहेको अध्यक्ष बानियाँले बताउनुभयो ।