सडक मर्मत पछि डेढ घण्टाको यात्रा तिस मिनेटमा छोटीयो

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ११ असार ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानी–मान्द्रेढुङ्गा सडक मर्मत गरिएको छ ।

सडक मर्मत गरीएपछि सडकमा बाह्ै महिना नियमित सवारी सञ्चालन हुन थालेको छ । जिल्ला समन्वय समिति, साविक गाविस कार्यालय र उपभोक्ताको १२ लाख रुपैयाको लागतमा पाँच किलोमिटर सडक मर्मत गरिएको उपभोक्ता समितिका अध्यक्ष रामबहादुर पाईजाले बताए ।

अप्ठ्यारो ठाउँमा पिसीसी ढलान, ढुङ्गा बिछ्याएर सोलीङ, साँघुरो घुम्तीहरुमा मोड सुधार, ग्रेड मिलाउने, नाली निर्माण र ग्यावियन पर्खाल निर्माण गरिएको छ । जिल्ला समन्वय समिति मार्फत दुई चरणमा नौ लाख रुपैया अनुदान प्राप्त उक्त सडक मर्मतका लागि साविक भुरुङ तातोपानी गाविसले दुई लाख रुपैया अनुदान सहयोग गरेको छ ।

उपभोक्ताहरुले करिब डेढ लाख रुपैयाँको श्रमदान गरेका छन् । २०७४ असार मसान्तमा सम्पन्न गर्ने लक्ष्य रहेको सडक मर्मत योजना जेठमै सम्पन्न भएको छ । सडक मर्मत भएपछि मान्द्रेढुङ्गाका १८० घरधुरी लाभान्वित भएका छन् ।

उकालोमा डेढ घण्टा पैदल हिड्नुपर्ने थियो । यो बाटो अहिले तिस मिनेटमा छोटीएको छ । दैनिक उपभोग्य, निर्माण सामाग्री ढुवानी, गाउँमा उत्पादीक कृषि उपज निकासी गर्न र आवत जावतमा सहज भएको वडा अध्यक्ष ओमप्रकाश फगामीले बताए ।

वि.स २०६७ देखि सुरु भएको बेनी–जोमसोम सडकको तातोपानी बजारदेखि मान्द्रेढुंगामा रहेको गाविस कार्यालय सम्म जोड्ने पाँच किलोमिटर सडक निर्माण कार्य बिस लाख रुपैयाको लागतमा वि.स २०७२ मा सम्पन्न भएको थियो ।