म्याग्दीमा भूकम्प प्रभावित किसानलाई आएको अनुदान रकम फिर्ता हुने

विकल्प न्यूज/बेनी
असार १० गते ।
चालु आवमा यहाँका भूकम्प प्रभावित कृषकहरुलाई विभिन्न शिर्षकहरुमा आएको अनुदान रकम फिर्ता हुने भएको छ । पटक पटक सूचना जारी गर्दा पनि कृषकहरु अनुदान रकम लिन नआएपछि चालु आर्थिक वर्षको पचास प्रतिशत बजेट खर्च हुन नसकी फिर्ता हुने जिल्ला पशुसेवा कार्यालयले जनाएको छ ।pasu office myagdiराष्ट्रि पुननिर्माण प्राधिकरण कोषबाट चालु आव २०७३/०७४ मा म्याग्दीका भूकम्प प्रभावित किसानहरुलाई जिल्ला पशुसेवा कार्यालय मार्फत विभिन्न शिर्षकहरुमा वितरण गर्ने गरि ६१ लाख ८९ हजार रुपियाँ प्राप्त भएको थियो ।

उच्च प्रजनन क्षमताका बोका वितरण, दुध उत्पादन राहत र मासु उत्पादन वृद्धि कार्यक्रम शिर्षकमा किसानहरुलाई अनुदान उपलब्ध गराउन बजेट प्राप्त भए पनि आवश्यकता अनुसार किसानहरुबाट माग नआएको कार्यालयले जनाएको छ ।

भूकम्प प्रभावित कृषकहरुलाई बाख्राको गोठ निर्माण,भकारो सुधार,बोका वितरण,बंगुरका पाठापाठी खरिद,घाँसको विउ,पशु शिविर सञ्चालन गर्न जिल्ला पशुसेवा कार्यालयलाई सो बजेट प्राप्त भएको हो ।
एकसय २५ जना कृषकहरुबाट मात्र अनुदान रकम लिन माग आएको पशु चिकित्सक जिवन प्रसाद आचार्यले बताउनुभयो । भूकम्प प्रभावित प्रति किसान १० हजार देखि २५ हजार सम्म अनुदान दिन सकिने कार्यक्रम भएको उहाँले बताउनुभयो ।

पटक पटक सूचना गर्दा पनि आवश्यक मात्रामा किसानहरुबाट माग नआएको पशुसेवा कार्यालयका पशुविकास अधिकृत नरवहादुर बानियाँले बताउनुभयो ।

अनुदान आएको छ, लैजानुस भनेर पत्रपत्रिका र एफएममार्फत जानकारी गराएका छौँ, पशुविकास अधिकृत बानियाँले भन्नुभयो, ‘अनुदानप्रति किसानले नै चासो देखाएनन् करिव ३० लाख रुपियाँ फिर्ता हुने भयो ।’ अझै पनि अनुदान लिन इच्छुक कृषक आएमा अनुदान दिन सकिने कार्यालयले जनाएको छ ।