सुन्तलाका विरुवा उत्पादन गर्न राँखुमा स्क्रिन हाउस

विकल्प न्यूज/बेनी
असार ७ गते ।
स्वस्थ र निरोगी सुन्तलाका विरुवा उत्पादन गर्नका लागि म्याग्दीमा स्क्रिन हाउस निर्माण गरिएको छ । जिल्ला कृषि विकास कार्यालय म्याग्दीको आर्थिक एवम् प्राविधि सहयोगमा बेनी नगरपालिका ३ राखुका कृषकहरुले सुन्तलाको बिरुवा उत्पादनका लागि आधुनिक प्रबिधिको प्रयोग गरेर स्क्रिन हाउस निर्माण गरेका हुन । स्क्रिन हाउसमा उत्पादीत सुन्तलाका विरुवाले लामो समय सम्म राम्रो फल दिने विश्वास गरिएको छ ।2नियन्त्रीत वातावरणमा सुन्तलाको बिरुवा उत्पादन गर्न राखुमा स्क्रिन हाउस (पलास्टीक घर) निर्माण भएको जिल्ला कृषि विकास कार्यालयका बागवानी विकास अधिकृत भोजवहादुर थापाले बताउनुभयो । उहाँका अनुसार चार तिरै जालीको बार र पलास्टीकले छाएको उक्त घरभित्रको तापक्रम सन्तुलीत हुने भएकाले विरुवा स्वस्थ हुनुका साथै उत्पादन पनि छिटो हुन्छ ।

घरभित्र किरा पस्न नपाउने भएकाले खुल्ला ठाउँको तुलनामा स्वस्थ्य बिरुवा उत्पादन गर्न सकिने कृषक मनकुमारी पुनले बताउनुभयो । विद्युतीय उपकरणको सहायताले एकै साथ स्पीङकल सिँचाई हुने व्यवस्था मिलाइएको सो पलास्टीक घरबाट एक पटकमा पचास हजार बिरुवा उत्पादन गर्न सकिने क्षमता छ ।

बिजु र कलमी प्रबिधिबाट बिरुवा उत्पादन गर्नका लागि जिल्लामै पहिलो पटक राखुमा स्क्रिन हाउस निर्माण गरेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले बताउनुभयो । आगामी वर्षदेखि बिरुवा उत्पादन सुरु गर्ने कृषक पुनले बताउनुभयो ।

उहाँले यसअघि खुल्ला ठाउँमा सुन्तलाको बिरुवा उत्पादन गर्नुभएको थियो । स्क्रिन हाउस र पलास्टीक पोखरी निर्माण तथा उपकरण खरिदका लागि कृषि विकास कार्यालयले सात लाख पचास हजार रुपियाँ अनुदान सहयोग गरेको वरिष्ठ अधिकृत रिजालले बताउनुभयो ।

कृषकले थप दुई लाख पचास हजार रुपियाँ बराबरको लगानी गरेर स्क्रिन हाउस निर्माण गरेका हुन् । राखुका कृषकहरुले दश हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरेका छन् । यहाँका ६३ घरपरिवारको मूख्य खेती सुन्तला हो । पछिल्लो समय विदेश गएका युवाहरु पनि गाउँ फर्कि सुन्तला खेती गर्न थालेका छन् ।