मतदान र सहायक मतदान अधिकृतहरुका लागि तालीम सुरु

सन्तोष गौतम/विकल्प न्यूज
बेनी २३ बैशाख ।
आगामी ३१ गते पहिलो चरणमा हुने स्थानीय तहको निर्वाचनमो खटिने मतदान र सहायक मतदान अधिकृतहरुका लागि शनिबार देखि बेनीमा तालीम सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालयको आयोजनामा सुरु भएको मतदान र मतगणाना सम्बन्धि तालीम दुई दिनसम्म चल्ने जनाइएको छ ।

तालीममा २२४ जना मतदान र सहायक मतदान अधिकृतहरुको सहभागिता रहेको छ । तालीमको उद्घाटन गर्नुहुदै आयोगका सहसचिव महेन्द्रप्रसाद गुरागाई र मुख्य निर्वाचन अधिकृत रामप्रसाद शर्माले भयरहीत वातावरणमा स्वच्छ र निष्पक्ष रुपमा स्थानीय तह निर्वाचन सम्पन्न गर्ने राष्ट्रिय दायीत्व पुरा गर्न सबै पक्ष जिम्मेवार र सम्बेदनशिल बन्नुपर्ने बताउनुभयो ।Nirbachan Talimनिर्वाचनका क्रममा मतदान र सहायक मतदान अधिकृतहरुले सावधानी र उच्च सर्तकतापुर्वक काम गर्नेपर्ने उहाँहरुको भनाई थियो । प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलको अध्यक्षता र निर्वाचन अधिकारी केदारनाथ पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा सहभागीको तर्फबाट जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

म्याग्दीमा १०२ वटा मतदान केन्द्र रहेका छन् । प्रत्येक मतदान केन्द्रमा १ जना मतदान अधिकृत, १ जना सहायक मतदान अधिकृत, २ जना सहायक कर्मचारी, एक जना सहयोगी तथा दुई जनाका दरले स्वमसेवक परिचालन हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
तालीमपछि मतदान अधिकृतको टोली मतदान सामाग्री सहित मतदान केन्द्रहरुमा खटिने क्रम सुरु हुनेछ् । म्याग्दीको टाढा र बिकट क्षेत्रमा २५ गते तथा अन्य ठाउँमा २६ गते देखि कर्मचारी खटाउने निर्वाचन कार्यालयको तयारी छ ।