मनोनयन दर्ताका दिन पर्वतको जलजलामा किन भयो भाडमैलो ?

विकल्प न्यूज /बेनी
बैशाख १९ गते ।

पर्वतको उत्तरी क्षेत्रको जलजला गाउँपालिकामा पार्टीहरुले उम्मेदवार चयन गर्दा लापरवाही गरेको भन्दै कार्यकर्ताहरु आक्रोशित भएका छन् । सोमवार अवेर सम्म नेपाली काँग्रेसका तर्फबाट धाइरिङका पार्टी सभापति राजु आचार्यले टिकट पाएको कुरा सामाजिक सञ्चालमा व्यापक थियो । तर एकाएक राती नै उम्मेदवार परिवर्तन गरि माझफाँट निवासी रामकृष्ण मल्ललाई पार्टीले उम्मेदवार बनाउने आधिकारीक निर्णय ग¥यो  । काँग्रेसको निर्णय विरुद्धमा यतिखेर जलजलामा खैलावैला मच्चिएको छ ।
यता नेकपा एमालेले जलजला गाउँपालिकाका संयोजक समेत रहनुभएका लाल वहादुर अधिकारीलाई प्रमुख पदको उम्मेदवार बनाउने निर्णय भएको तिन दिन अघि नै चर्चामा आएको थियो ।
एमालेका प्रभावशाली र पुराना नेता उदय सुवेदीलाई पाखा लगाएर अधिकारी चयन भएपछि नेकपा एमाले भित्र पनि यतिखेर भाँडमैलो सुरु भएको छ ।

जलजलाको केन्द्र विवादका कारण दलहरुले उम्मेदवार चयन गर्दा सोच विचार गर्नु पर्नेमा हचुवा र गुटका आधारमा उम्मेदवार चयन गरेको नेपाली काँग्रेस महासमिति सदस्य रुद्रलाल उपाध्यायले बताउनुभयो । सोमवार मध्य रातीमा भएको गलत निर्णयले  बहुसंख्याक मतदाताहरुको भावना र आत्मसम्मानमा चोट पु¥याएको उहाँले बताउनुभयो । राती अवेर सम्म राजु नै उम्मेदवार भएको जानकारी थियो,‘एकाएक निर्णय परिवर्तन गरियो यो हाम्रा लागि मान्य हुँदैन ।’ हामी अर्को स्वतन्त्र उम्मेदवार खडा गर्दछौ उहाँले भन्नुभयो ।

यस्तै नेकपा एमालेका नेता उदय सुवेदीले पनि बहुँसंख्याक मतदाताहरुको भावना विपरित पार्टीले निर्णय गरेको प्रतिकृया दिनुभएको छ ।
यता माओवादी केन्द्रले पनि माझफाँट निवासी वावुराम कार्कीलाई नै प्रमुख पदमा उम्मेदवार बनाएको छ ।
सवै दलहरुले माझफाँट केन्द्र पक्षधरका व्यक्तिहरुलाई उम्मेदवार बनाएर मिलनचोक केन्द्रका विरुद्धमा ठूलो षडयन्त्र गरेको मिलनचोकवासी इन्द्र आचार्यले बताउनुभयो ।
17410084_1253305674717242_887741155_n
सालिजा,धाइरिङ,बनौ र नाग्लीवाङमा क्रियाशिल नेपाली काँग्रेस,एमाले र माओवादीका स्थानीय नेताहरुले प्रमुख पदमा स्वतन्त्र उम्मेदवार खडा गर्ने विषयमा छलफल चलाएका छन् ।
निर्वाचनको मुखमा आएर पार्टीहरुको आन्तरिक विवाद छताछुल्ल भएका कारण निर्वाचनमा कसको जित हाँसील हुन्छ भन्ने कुरा आंकलन गर्न कठिन हुने भएको छ ।
सवैलाई पायक पर्ने मिलन चोकनै केन्द्र हुनुपर्ने माग गर्दै विभिन्न चरणहरुमा आन्दोलन समेत भएको थियो ।
तिनवटै उम्मेदवार माझफाँटबाट हुँदा नेकपा एमालेका अधिकारी बलियो उम्मेदवार हुने आँकलन एकाथरीहरुले गरेका छन् ।