किन परे अपहरणमा भकिम्लीका उम्मेदवार ?

विकल्प न्यूज/बेनी
बैशाख १८ गते ।
म्याग्दीको बेनी नगरपालिका ३ भकिम्लीका उम्मेदवार अपहरणमा पर्नुभएको छ । नेपाली काँग्रेसको तर्फबाट स्थानीय तहको निर्वाचनका लागि वडा अध्यक्षका उम्मेदवार जस वहादुर पुनलाई सोमबार अज्ञात व्यक्तिहरुले अपहरण गरेको नेपाली काँग्रेस म्याग्दीले जनाएको छ । kidnapभकिम्लीबाट पार्टीको बैठकमा सहभागी हुन बेनी आउँदै गरेका पुनलाई अज्ञात व्यक्तीहरुले अपहरण गरेको नेपाली काँग्रेस म्याग्दीका प्रचार विभाग प्रमुख अजयमिलन श्रेष्ठले जानकारी दिनुभयो ।

“चढेर आएको गाडी बिग्रीएपछि हिडेर बेनी आउदै गर्दा दुधेखोला क्षेत्रबाट अपहरणमा पर्नुभएको हो” श्रेष्ठले भन्नुभयो “चुनाव बहिस्कार गर्ने टोलीबाट अपहरणमा परे, म भोली उम्मेदवारी दर्ता गर्न आउन सक्दिन भन्नुभएको थियो ।” दिउँसो २.३० बजेदेखि पुनको मोवाईल स्वीचअफ भएको छ ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले अपहरित पुनको खोजीका लागि सम्भावीत ठाउँमा सुरक्षाकर्मी परिचालन गरिएको र साँझसम्म अवस्था पत्ता लाग्न नसकेको बताउनुभयो । अपहरणमा संलग्नको पहिचान र पुनको खोजीमा सबै सुरक्षा संयन्त्र परिचालन गरेको प्रजिअ पौडेलले बताउनुभयो ।