फुलमायाको उपचारका लागि ईटलीबाट ६५ हजार रुपैयाँ सहयोग

सन्तोष गौतम/विकल्प न्यूज
बेनी १० बैशाख ।

रक्तक्यान्सरबाट पीडित म्याग्दीको धौलागिरी गाउँपालीका ७ ताकमकी फुलमाया भण्डारीको उपचारका लागि ईटलीबाट ६५ हजार ४०० रुपैया सहयोग प्राप्त भएको छ ।

साविक ताकम गाविस ४ की ३३ वर्षिया भण्डारीको उपचारका लागि ताकम धारापानी घर भई हाल ईटलीमा रहनुभएका रवीप्रकाश थापाको पहलमा संकलीत सो रकम आईतबार ओमकुमारी शान्ति कोषलाई हस्तान्तरण गरिएको हो ।Ravi Prakash Thapa (1)थापाकी श्रीमती शान्तीले कोषका अध्यक्ष राजेश शाक्य र फुलमाया बचाउ अभियानका संयोजक सन्तोष गौतमलाई रकम हस्तान्तरण गर्नुभएको थियो । परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि शान्ति कोषले फुलमाया बचाउ अभियान सञ्चालन गरेको छ । अभियानमा देश बिदेशमा रहेका म्याग्देलीहरुबाट सहयोग प्राप्त हुने क्रम जारी छ ।

भरतपुर स्थित विपी कोईराला मेमोरीयल क्यान्सर अस्पतालमा उपचार गराईरहेकी भण्डारीको स्वास्थ्यमा सुधार आएको आफन्तहरुले बताएका छन् । रोजगारीको शिलशिलामा एक वर्षअघि कतार गएका फुलमायाका श्रीमान रोशन स्वदेश फर्कीएर श्रीमतीको उपचारमा जुटेका छन् । खेती किसानी गरेर जिविकोपार्जन गर्दै आएका भण्डारी दम्पत्तीका दुई छोरा र दुई छोरी छन् । उनको उपचारका लागि पन्ध्र लाख रुपैया खर्च हुने अस्पतालले जनाएको छ ।