दृष्टिविहीन युवाको मिसन सगरमाथा

उनको घर-आँगनबाटै हिमालहरु प्रष्ट देखिन्छ । उत्तरी पाखामा लस्करै धवलागिरी, माछापुच्छ्रे लगायत हिमशृंखला उभिएका छन् । तर, हिउँचुलीबाट बहँदै आउने चिसो स्याँठ बाहेक उनले केही पनि महसुस गर्न पाएनन् । Amit-@-Mera-Peak  हिउँको थुप्रो कहिल्यै नदेखेका र नछोएका बाग्लुङ सर्कुवाका दृष्टिविहीन अमित केसी यतिबेला सगरमाथा चढ्ने उद्देश्यमा छन् । ३२ वर्षको जिन्दगानीमा उनले धेरै सपना सजाए, ती सबै चानचुने सपनालाई सगरमाथा चढ्ने सपनाले पुड्को बनाइदिएको छ ।

अमितको सगरमाथा-सपना साढे चार वर्षअघि टुसाएको हो ।

अमेरिकी नागरिक क्लेफ नेपाल आउँदा फरक क्षमता भएका मानिसहरुलाई आत्मबल र हौसला भर्न तालिम दिने इच्छा देखाएका थिए । उनी थिए, सगरमाथामा पहिलो दृष्टिविहीन पुग्ने देश अमेरिकाको कोलोराडो राज्यका नागरिक । सानातिना हिमाल चढेका र टे्रकिङमा रुचि राख्ने उनी रक क्लाइम्बिङका टे्रनर रहेछन् ।Amit-KC-2अमितका साथी खमराज शर्मासँगको भेटमा क्लेफले आफू दृष्टिविहीनले सगरमाथा चढेको देशको नागरिक हुनुको नाताले नेपाली दृष्टिविहीनलाई पनि केही अनुभव दिलाउन चाहने कुरा गरे ।

त्यसै अनुसार पोखरामा रक क्लाइम्बिङको टे्रनिङ आयोजना भयो । तालिममा अमितसहित ४०/४२ जना दृष्टिविहीन सहभागी थिए ।

तालिमका क्रममा अमितले हठात् सोधे, ‘म पनि सगरमाथा आरोहण गर्न सक्छु त ?’

जवाफ आयो, किन नसक्ने ?

उनै क्लेफले हौसला दिए, ‘माछा र पानीको जस्तो सम्बन्ध हुन्छ, नेपाली र हिमालको बीचमा त्यस्तै सम्बन्ध हुन्छ । तिमी पनि पक्कै सक्छौ ।’

पहिलो दृष्टिविहीनका रुपमा अमेरिकाका एरिक वेनमेयरले सन् २००१ मे २५ मा सगरमाथाको सफल आरोहण गरेको कुराले उनमा आशाको सञ्चार गराएकै थियो । शारीरिक रुपमा कमजोर व्यक्तिले पनि आरोहणमा जान उपयोगी डिभाइसको मद्दतले आफूलाई सबल बनाउन सक्ने बुझेपछि अमित हौसिए ।

क्लेफले उनलाई जिम लैजानेदेखि शारीरिक सुगठनका अरु टे्रनिङहरु पनि गराए ।

एक हिसाबले जोखिमको मृत्यु-मार्ग नै मानिने सगरमाथा आरोहण गर्ने साहस अमितमा कसरी पलायो त ? यो थाहा पाउन उनको आनीबानी र विगत खोतल्नुपर्ने हुन्छ ।

‘म सानैदेखि विद्रोही स्वभावको मान्छे हुँ’, उनले आफ्नो प्रतिरोधी पाटो खुलाए, ‘स्कूलमा दृष्टिविहीनको लागि आउने फण्डबाट दिने भनिएका सुविधाहरु नदिँदा यस्तो किन भयो भनेर प्रश्न गरिरहन्थेँ ।’

फरक क्षमताका उस्तै मान्छेहरुबीच पनि केही फरक गरुँ भन्ने सोचले उनलाई अरुभन्दा अगाडि उभ्याउँदै आएको छ ।

उनी जे सोच्छन्, त्यसबाट टसमस हुँदैनन् । असहमतिका विषयमा तर्क-वितर्क र प्रश्न गर्ने स्वभावकै कारण उनलाई पछिल्लो समय दृष्टिविहीनको अधिकारको क्षेत्रमा काम गर्न पनि सजिलो बनाएको छ ।

सगरमाथा आरोहणको तयारी गरिरहँदा अमितमा आफूप्रति दृढ विश्वास देखिन्छ । शारीरिक रुपमा बलियो मात्रै हैन, मानसिक रुपमा पनि आफू तयार रहेको बताउँछन् ।

‘सबैभन्दा महत्वपूर्ण कुरा त यो गाह्रो काम हो र यस क्रममा मर्न पनि सकिन्छ भनेर मलाई थाहा छ । मृत्युलाई स्वीकार गरिसकेको मान्छे हुँ’, उनले हक्की स्वरमा भने ।Amit-KC1सगरमाथा चढ्ने निर्णय गर्दा सुरुमा घर-परिवारले उनलाई रोक्न खोजेका थिए । तर, उनको अडान र आत्मबल देखेपछि अहिले सबै उनकै साथ-सहयोगमा उभिएका छन् ।

नेपालको परिस्थिति नै प्रेरणा

अमितले समाज र संसारमा फरक क्षमताका मान्छेले उदाहरणीय काम गरेर प्रेरणाको पात्र बनेको थुप्रै उदाहरण देखेका छन् ।

खुट्टाले लेखेर मदन पुरस्कार जित्ने झमक घिमिरे, दुवै हात नचले पनि बोइङ उडाउने अमेरिकाकी जेसिका कक्स, हात र गोडा नै नभए पनि उदाहरणीय जीवन बाँचेका मोटिभेस्नल स्पिकर निकोलस जेम्स ‘निक’ र सगरमाथा चढ्ने दृष्टिविहीन आरोही एरिक वेनमेयर लगायतको नाम उनी लिइरहन्छन् ।

तर, यी कुनै पनि उनको लागि प्रेरणाका स्रोत होइनन् । सगरमाथा आरोहण गर्ने सोच बनाउनुमा उनले नेपालकै परिस्थितिलाई प्रेरणा मानेका छन् ।

‘नेपालमा शारीरिक रुपमा असक्षम र फरक क्षमताका मानिसको लागि अनुकूल वातावरण छैन । यो नै मेरो लागि प्रेरणाको स्रोत हो’, उनले भने ।

उनले आफू सगरमाथा चढ्दैमा यो अवस्था झ्वाट्ट फेरिने हैन भनेर बुझेका छन् । तर, व्यक्तिको क्षमता हेरेर मात्र विश्वास गर्ने तर विश्वास गरेर जिम्मेवारी नदिने समाज र राज्यको चिन्तनलाई एक पटक झकझक्याउन चाहन्छन् उनी ।

अमितलाई राज्यले साङ्ग र अपाङ्गता भएका व्यक्तिहरुलाई गर्ने फरक व्यवहार चित्त बुझेको छैन । उनले राज्यको विभेदकारी दुई वटा अवधारणा ‘बिलिभिङ इज सिइङ’ र ‘सिइङ इज बिलिभिङ’ औंल्याएका छन् ।

‘बिलिभिङ इज सिइङ’ अर्थात् विश्वास गरेर कुनै पनि जिम्मेवारी/काम दिने र ‘सिइङ इज बिलिभिङ’ अर्थात् राम्रो गरेको उदाहरण देखाएपछि मात्रै विश्वास गर्ने ।

उनी भन्छन्, ‘राज्यले साङ्ग व्यक्तिले मौका पायो भने केही गर्न सक्छ भनेर उसलाई यत्तिकै विश्वास गर्छ । तर, हामीले चाहिँ केही गर्न सुरुमा उदाहरण देखाउनुपर्ने अवस्था छ । अवसर नपाई हामीले कहाँबाट उदाहरण देखाउने ?’

जुनसुकै समुदाय र वर्गको अधिकारको कुरा गर्दा त्यहाँभित्र अपांगता भएका व्यक्तिहरु छुट्ने गरेको उनको अनुभव छ । ‘बिलिभिङ इज सिइङ’ अवधारणामा चल्ने राज्यलाई ‘सिइङ इज बिलिभिङ’ मा बदल्न आफ्नो सगरमाथा यात्राले सक्छ कि भन्ने उनको आशा छ ।

पूर्वतयारी

सगरमाथा चढ्ने पूर्व अभ्यास स्वरुप उनले ६ हजार मिटर माथिको दुई वटा हिमाल चढिसकेका छन् ।

पहिलो पटक हिमाली टाकुरा टेक्न उनी ०७२ को नयाँ वर्षकै दिन सोलुखुम्बु गएका थिए । उनले बैशाख ८ गते ६ हजार १ सय ८६ मिटरको आइल्यान्ड पिक चढे भने सोही वर्षको चैत ८ गते ६ हजार ६ सय ५४ मिटरको मेरा पिक गए ।

आइल्यान्ड पिक चढ्ने बेलामा उनलाई ठूलोबुवा पर्ने गैंडाकोटका नरेन्द्रबहादुर खड्काले एक हजार डलरका साथै सहमति नेपाल भन्ने संस्थाका अध्यक्ष करुणा सागर सुवेदीले पनि सहयोग गरेका थिए । मेरा पिकका लागि गैंडाकोटको बाल विकास हाइयर सेकेण्डरी स्कूलका पि्रन्सिपल दीपक राउतले समन्वय गरेर एक लाख २० हजार जुटाइदिएका थिए ।

सगरमाथा आरोहणको तयारीका लागि उनी गैंडाकोटामा पुग्दा पि्रन्सपल राउतले नै लायन्स क्लबको कन्भेन्सनमा उनलाई पुर्‍याएपछि त्यो मञ्चमार्फत सहयोग मागेका थिए । त्यसबेला लायन्सका अन्तर्राष्ट्रिय निर्देशक सञ्जय खेतान, तत्कालीन गभर्नर डिके ढुंगाना लगायतको टिमले अभियानमा सपोर्ट गर्ने प्रतिबद्धता दिएका थिए ।Amit-KCआइल्यान्ड पिक र मेरा पिक चढ्न जानुअघि अमितले जति कठिन होला भनेर सोचेका थिएँ, त्यति नै कठिन पाए । तर, कल्पना गर्दा पूरै भित्तैभित्तो मात्र हुन्छ भन्ने थियो, कतै उकालो र भिरालो पनि हिँड्नुपर्ने रै’छ ।

दुवै हिमाल चढेपछि अमितलाई सगरमाथा चढ्न सक्छु भन्ने विश्वास अझ बढ्यो ।

उनले मेरा पिक चढ्दै गर्दा सुखद संयोग जोडियो । लायन्स क्लब गैंडाकोटा मौलाकालिकाले उनी इच्छुक भए लायन्स स्थापनाको सय वर्ष पुगेको अवसरमा झण्डासहित सगरमाथामा पठाउने निर्णय गर्‍यो ।

त्यो प्रस्ताव लायन्स क्लबमा लिखित रुपमै पास भएपछि उनी लायन्ससँग अझ नजिक भए । पछिल्लो समय लायन्सले नै अमितको सगरमाथा आरोहणको अभियान अघि बढाइरहेको छ ।

सगरमाथा आरोहणका लागि उनलाई आवश्यक बन्दोबस्तीका सामान, खानेकुरा, गाइड खर्चसहित गरेर एक लाख डलर आवश्यक पर्छ । यसबारे उनले आफ्नो फेसबुकमा पनि प्रपोजलहरु राखेका छन् ।

उनको अभियानमा राज्यले पनि सहयोग गरेको छ । सरकारले रोयल्टी शुल्क ७ सय ५० डलर निःशुल्क गरिदिने बताएको र पाँच लाख रुपैयाँ दिने घोषणा पनि गरेको उनले बताए । विभिन्न क्षेत्रबाट सहयोग र सहयोग प्रतिबद्धता आउने क्रम जारी रहँदा अहिलेसम्म करिब १५ लाख रुपैयाँ जुट्ने आधार बनेको छ । रकम जुटाउन यतिबेला उनी काठमाडौंमा निकै दौडधुपमा छन् ।

सगरमाथा मिसन लिएर अबको एक-डेढ सातामा आधार शिविरतिर हिँड्ने उनको तयारी छ । यस्तो बेला रकम पर्याप्त नजुटेर अभियान अलमलमा पर्ला कि भन्ने सन्देह पनि उत्तिकै छ ।

यसमा पनि अमित विश्वस्त छन्, ‘लायन्सका अध्यक्ष सञ्जय खेतानले तपाईं त्यता हिँड्दै गर्नुस्, हामी यता तयारी गर्दै जान्छौं भन्नुभएको छ ।’

उनको आरोहण दलमा चार जना गाइड र अरु सबै गरी ८/१० जना हुनेछन् ।

‘आत्मविश्वास, आफूले गर्न खोजेको कामले दिने मेसेज र गाइडहरुको सहयोग आदिको आधारमा म जाँदै छु । युद्धमा गयो भने गोली पनि खान सकिन्छ भनेर जसरी एउटा सेना तयार भएको हुन्छ, त्यसै गरी यो जटिल काम हो भन्ने ठान्दै म जान लागेको छु’, उनले संकल्प सुनाए ।

बत्तीमुनि अँध्यारो

विवाहित र दुई सन्तानका पिता अमितले सोसोलोजीमा मास्टर्स गरेका छन् । केही समय अघिसम्म बाग्लुङ नगरपालिकको रामरेखास्थित स्कूलमा पढाउने उनले आफ्नो अभियानमा जाने तयारी गर्न जागिर छाडिसकेका छन् ।

सगरमाथाबाट फर्केपछि उनका धेरै योजना छन् । त्यसमा पनि उनको मनमै गढेको रुचि छ, दृष्टिविहीनसहित अपांगताहरुको अधिकारकर्मी भएर काम गर्ने ।

अभियानको तयारी गरिरहँदा उनलाई साहसिक निर्णय र राम्रो उद्देश्य भन्दै धेरैले हौसला दिएका छन् । कतिपय यस्ता पनि भेटिए, जसले तपाईंले सक्नुहुन्न भनेर खिन्न पार्ने काम पनि गरे ।

त्यसलाई उनले बत्तीमुनि अँध्यारोको उदाहरण अघि सार्दै समाजमा नकारात्मक सोच हुनुलाई स्वाभाविक रुपमा लिएका छन् ।

‘समाजमा सकारात्मक ठान्नेहरुलाई अवरोध गर्नेहरु भइदिएनन् भने सकारात्मक सोचको भ्यालु पनि त हुन्न ।’ साभारःअनलाइनखबर डट कम